विवादित विधेयक फिर्ता गर्न काँग्रेसकाे मागः सरकारलाई सदन र सडकबाट घेराउ गर्ने

Spread the love

काठमाडौं, १ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक फिर्ता नलिए सरकारलाई संसद् र सडकबाट घेराउ गर्ने बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस यूनियनका प्रतिनिधिहरुसँगको छलफलमा सभापति देउवाले विधेयक फिर्ता नलिए सरकारलाई संसद् र सडकबाट घेराउ गर्ने बताएका हुन् ।

संसदीय दलकै बैठकमा महासंघ र यूनियनका पदाधिकारी र पूर्वपदाधिकारीलाई सहभागी गराएर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कार्य कांग्रेसलाई स्वीकार्य नहुने बताए । छलफलका क्रममा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँमा आफू सधैं नेपाली प्रेस जगतको साथमा रहने प्रतिवद्धतासमेत जनाए ।

‘‘वीपीले प्रजातन्त्रको सिद्धान्त प्रतिपादन गरेकै दिनबाट हामीहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा छौं । सरकार यसको खिलापमा गइरहेको छ । हामी सदन र सडकबाट सरकारलाई घेर्छौं । प्रेस माथिको आक्रमण हामी सहदैनौं । सरकारले विधेयक फिर्ता लिनुपर्छ,’’ छलफलमा सहभागी प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देलले सभापति देउवाको भनाइ उद्धृत गर्दै भने ।

छलफलका क्रममा सभापति देउवाले मानवअधिकार सम्बन्धि विधेयक र सुरक्षा परिषद् सम्बन्धि विधेयकमा पनि आपत्ति जनाएका थिए । पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, पूर्व अध्यक्ष डा. सुरेश आचार्य र प्रेस यूनियनका अध्यक्ष सिग्देल छलफलमा सहभागी थिए ।

उनीहरुले प्रेस स्वतन्त्रताको लडाइँमा नेपाली पत्रकारितालाई साथ र सहयोग दिन कांग्रेस सभापति देउवासँग आग्रह गरेका थिए । ‘‘विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन्छ । प्रेसमा काम गर्ने साथीहरुको लेख्ने, बोल्ने, प्रकाशन–प्रशारण गर्ने हक–अधिकार कुण्ठित हुने भएकाले यस्तो कडा कानुन र दण्ड जरिवाना हामीलाई स्वीकार्य छैन भन्यौं,’’ अध्यक्ष सिग्देलले भने, ‘‘नेपाली कांग्रेसले पहिलेबाटै प्रेस स्वतन्त्रताको विषय उठाउँदै आएका हो ।

प्रेस स्वतन्त्रताको यो लडाइँमा नेपाली पत्रकारितालाई साथ र सहयोग दिनुपर्यो भन्ने हाम्रो आग्रह थियो ।’’ महासंघ र यूनियनका पदाधिकारीहरुले सरकारले विधेयक जवरजस्ती ल्याउने प्रयास गरे देशैभरी सशक्त रुपमा आन्दोलन गर्ने चेतावनीसमेत छलफलका क्रममा दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *