शासकले साँघुर्‍याएको सहर

यादव देवकोटा, काठमाडौँ वैशाख २ ।  पूर्वार्द्ध पुराना स्मृतिहरू भन्छन्– काठमाडौं सहर निकै सानो थियो । दरबारको धुरीबाट सारा जनताको घरबाट धुवाँ पुत्पुताएको हेर्न सकिन्थ्यो र कसले खान पाए या पाएनन् भनी निर्क्योल गर्न सकिने आकारको थियो । अनिमात्रै भोजन गर्थे, राजा । जनताको तलबितलको भोकपीरको ख्याल थियो, शासकमा । धेरै पहिलेको आदिम कथा होइन, मल्लकालमै थियो यस्तो, लेख्छन् इतिहासकारहरू ।खासमा काठमाडौं ‘त्वा/त्व’को आकार बढाउन प्रयासरत थियो ।

बत्तीस महर्जन ‘त्वा’को समुच्च आकारले बल्ल एउटा नगरको परिचय लिन सक्ने अवस्था थियो । तर हरेक त्वा (टोल) हरू निश्चित घेराभित्र थिए र त्यहीं थपिन्थे नयाँ घरहरू, सोही गुठीका अधीनस्थहरूको स्वामित्व हुने भए मात्र ।

८/९ दशकको उमेर भोगेकाहरू जीवितै भेटिए, ती रैथानेहरूको अनुभवले बोल्छ–हाकुतफालोहँ/धुँख्व (बागबजार), वदेयक्वः (डिल्लीबजार), थँ बहीः (ठमेल) हरू नै पनि काँठ थिए । मुख्य सहर अर्थात् ‘यङ्गल’ र ‘यम्बु’ अर्थात् थथुपुई, दथुपुई, लायकुपुई र क्वथुपुईका बासिन्दाका लागि । सहरबाट टाढामाक्रै बस्न दिइन्थ्यो, बाहिरियालाई । त्यसै त्रममा बनेको थियो, भोत बहाः ।

अर्थात् आजको भोटेबहाल सहरको घेराभन्दा निकै परको बस्ती मानिन्थ्यो, त्यो समयमा ।

तिनका लागि छुट्टै धारा बनेको थियो भोतःहिती । कतिसम्म भने राणाकालमै पनि जङ्गबहादुरले मुख्य सहरबाट निकै परमात्र दरबार बनाएका थिए, रैथानेहरूले दरबारको चियोचर्चो गर्न नसकुन् भनेर– थापाथली दरबार । बुझ्न सकिन्छ, कति ठूलो थियो सहर । कति खुला थिए, ठाउँहरू ।

मध्याह्न
जब पृथ्वीनारायणले गोर्खा राज्यको विस्तारको क्रममा काठमाडौंको मोर्चामा रैथाने मल्ल राजा हराएर आफ्नो ‘धुन्य’ फहराए, सुरु भैहाल्यो आफ्ना ‘खास मानिसहरू’लाई विर्तामा काठमाडौंको जमिन दिने क्रम । त्यसरी विर्ता र बक्सिसमा जमिन हात पार्नेहरूमा स्वाभाविक रूपले गोर्खाली थरघरका भारदार, गुरुपुरोहितहरू मुख्य थिए ।
आज पनि हनुमानढोका दरबार आसपास या पशुपति मन्दिरको घेरा वरिपरि प्रशस्त जग्गाजमिन र शानसौकातका साथ बस्ने गैररैथानेहरूको इतिहास खोजियो भने धेरैको त राणा दरबारको हाजिरीबाट पर पुग्दैन, पुगिहाले पनि पृथ्वीनारायण शाहको काठमाडौं विजयको समय घेरो नाघ्न सक्दैन ।

त्यसबखत काठमाडौंमा उपलब्ध मुख्य भवनहरूमा यात लायकु (दरबार) हरू थिए या मन्दिरहरू ।

त्यस बाहेक अहिले बागदरबार भएको ठाउँमा रहेको भव्य भारदारी भवन पृथ्वीनारायणले मकवानपुरको प्रशासक नपाएर विभिन्डिएका भाइ महोद्दामकीर्ति शाहलाई खुसी बनाउन दिएका थिए भने अर्का भाइ दलमर्दन शाहलाई वंघ (इन्द्रचोक) बाट तह्रौ बुः (जुद्धसडक) जाने मूलबाटोमा पर्ने सोकम्बुढोका नजिक मखन ‘त्वा’के बगलको भव्य महल दिएका थिए ।

राज्यकै मातहतमा थियो, योलद्या (आरबी कम्प्लेक्स, रणमुक्तेश्वरले चर्चेको जमिन) मा रहेको तत्कालीन समयको भव्य भवन, त्यहीं गिडिएका थिए, रणबहादुर शाह । त्यही महोद्दमकीर्तिले पाएको भवन विसं १८६२ पछि भीमसेन थापाले कब्जा गरेका थिए भने मखन ‘त्वा’ नजिकको भवन रङ्गनाथ पण्डितले ।

कुनै समय काठमाडौंमा ६५ प्रतिशतको संख्यामा रहेका ज्यापुहरू दुई, अढाई सय वर्षको बीचमा हेर्दाहेर्दै कसरी ३ प्रतिशतमा आइपुगे र आफ्नै भूमिमा उनीहरू कसरी अल्पसंख्यक बन्न पुगे भन्ने प्रकरणलाई बुझ्न काठमाडौंको जमिनमाथि भएको शासकीय राजनीतिलाई गहन तवरले ननिफनी सम्भव छैन ।

उत्कर्ष
भीमसेन थापाको हातमा सत्ता गएपछि उनले शासनको मूलकेन्द्रबाट इतर भारदारहरूलाई सिध्याएर सत्ताको चरम ‘खसकरण’ मात्रै गरेनन्, काठमाडौंको परम्परागत प्रवेशद्वार र सीमासहित पहिचान बोकी बसेका रैथाने टोलहरूको साँधसीमा पनि भत्काइदिए, आफ्ना लागि ‘बाग (तत्कालीन समयको सबैभन्दा भव्य बगैंचा रहेको ठाउँ)’ मा बनाउने दरबारका लागि १२० रोपनी जमिन अधिग्रहण गर्न ।

त्यसपछि उनका भाइ नैनसिंह थापाले न्वखुसिच्व (थापाथली) मा ८० रोपनी जमिन ओगटेर थापाथली दरबार बनाए ।

त्यही ठाउँमा पछि जङ्गबहादुर सत्तामा आएपछि १५०० रोपनी बढी जमिन ओगटेर अनेकौं दरबार बनाए । वीरकेशर पाँडेले लाजिम्पाट दरबार (हाल शंकर होटल) र धोकलसिंह बस्नेतले नारायणहिटी दरबार (हाल नारायणहिटी दरबार संग्रहालय) बनाएका थिए, त्यसअघि नै ।

जाल
राणाहरूको हातमा सत्ता गएपछि काठमाडौंको मुख्य बस्तीभन्दा केही दूरीमा रहेका विशाल खेतीयोग्य जमिनहरू राणाशासनको रोलवाला र बेरोलवाला तुजुकवालहरूको कब्जामा गयो । त्यहींबाट सुरु हुन्छ, काठमाडौं सहरको विस्तार, स्थानीयहरूको स्वामित्वबाट विशाल आकारमा रातारात जमिन खोस्ने जालझेलको शृङखला । राणाहरूको जिब्रोमा कानुन थियो । उनीहरू मुखैले कसैको जात खोस्ने र थप्ने, जीउ मास्ने, सर्वस्वहरण गर्ने, कब्जा गर्ने ‘अधिकार’ राख्थे ।

सत्तामा जानासाथ राज्यको ढुकुटीब्रह्मलुट गरेर आफ्ना सबै विवाहिता, अविवाहिता, भित्रिनीबाट जन्मेका सन्तानका लागि नामी–नामी महल बनाइए, रैथाने किसानहरूको खेतीयोग्य जमिन जबर्जस्ती हडपेर या नाम मात्रको मुअब्जा दिएर । जिब्रोमा कानुन भएका राणा प्रधानमन्त्रीले आँखा गाडेको जमिन दिन्न भन्न सक्ने अवस्थै हुन्थेन, निरीह किसानहरूको । उनीहरूले फालिदिएको नाम मात्रैको मुअब्जालाई ‘जो निगाह सरकार’ भन्दै थाप्नु बाहेक किसानहरूसँग कुनै विकल्प थिएन ।

त्यसैको सिलसिला थियो, मनोहरामा ५०० रोपनी जमिन ओगटी बनाइएको मनहरा दरबार ।

नारायणहिटीको दरबार विस्तार गर्न स्थानीयबाट छिनिएको ४४५ रोपनी जमिन । सेतो दरबार बनाउन जमः (जमल) मा अधिग्रहण गरिएको ३७५ रोपनी । जावलाखेल दरबार बनाउन ओगटिएको सय रोपनी ।
१ सय ६० रोपनी जमिन ओगटी बनाएको भाटभटेनी दरबार, १ सय ८० रोपनी ओगटी बनाइएको चारबुर्जा दरबार, ३ सय रोपनी ओगटी बनाइएको लाल दरबार, ३ सय ५० रोपनी ओगटी बनाइएको सिंहदरबार, १ सय ४० रोपनी ओगटी बनाइएको शीतल निवास, १ सय ४० रोपनी ओगटी बनाइएको श्रीदरबार (मदन पुरस्कार गुठी, दीक्षित निवास, साझा यातायात) ।

त्यस अलवा बनेका थिए, अनेकन थप दरबारहरू– पानीपोखरी दरबार, टंगाल दरबार, ललिता निवास (राष्ट्र बैंक, प्रधानमन्त्री निवास), जावलाखेल दरबार (हाल, स्टाफ कलेज) किरण भवन, नीर भवन, विक्रम भवन, सुरेन्द्र भवन (हाल नर्स तालिम केन्द्र), नारायण भवन (हाल महिला तालिम केन्द्र), शान्त भवन (पहिले अस्पताल), मान भवन, किरण भवन, मीन भवन, रवि भवन, शशी भवन (हाल प्रधानसेनापति निवास), चेत भवन (मनास्लु होटल) सिंहमहल (राष्ट्र बैंक भवन), १५५ रोपनीको महावीर भवन निवास (हालको प्रहरी हेडक्वार्टर), लाजिम्पाट दरबार (शंकर होटल), फोहरा दरबार (अमेरिकी सेन्टर, ग्रिन लाइन), हात्तीसार दरबार (चिनियाँ राजदूतावासको शाखा), २ सय ५९ रोपनीको लक्ष्मी निवास (भैरवनाथ गण र पशुपतिशमशेर निवास), २ सय ४१ रोपनीको बबर महल (बबर महल रिभिजिटेड, यातायात कार्यालय) केशर महल (केशर पुस्तकालय र गार्डेन अफ ड्रिम्स), २४१ रोपनीको हरिहर भवन (मन्त्री क्वार्टर), सुवर्ण भवन, १ सय २० रोपनीको सीता भवन (बाल मन्दिर), सत्य भवन, विशालनगर दरबार ।

यी बाहेक भित्रियाबाट जन्मेका राणाजीका सन्तानका लागि स–साना अनेक भवनहरू गच्छे अनुसार बनइएका थिए ।

राणा दरबारमा हाजिरी लगाउने, चाकडी गर्ने, चुक्ली धान्ने, तन्त्रमन्त्र गर्ने, पूजापाठ लगाउनेहरूले पनि उसैगरी जग्गाजमिन पाएकै हुन्थे । जानकारहरू भन्छन्, ८ हजार रोपनीभन्दा बढी जमिन राणाकालमै छिनिएको थियो, काठमाडौंका ज्यापुहरूबाट । तिनै राणा दरबारको बगलमा बनाउँथे, तिनैका चाकरीदारहरूले आफ्नो घर । त्यसरी राणाकालमा बनेका विभिन्न दरबारहरूको आसपास तीव्रतर बढेको थियो, नयाँ बस्ती ।

यसरी काठमाडौं उपत्यकाका खेतीयोग्य जमिनहरू मुख्यतया राणाकालको साढे आठ दशकभित्र रैथाने कृषकहरू अर्थात्् ज्यापुहरूको स्वामित्वबाट छिनियो । र समयक्रममा आज उपत्यकाका सबैभन्दा महँगा जमिनको दरभाउमा यिनै राणाकालमा सहरका मुख्य बस्ती छलेर बनाइएका दरबार आसपासका जमिन पर्छन् । महेन्द्रकालमा वर्षैपिच्छे फेरिएका प्रधानमन्त्री या मन्त्रीहरू, प्रशासकहरू र पञ्चायतका हस्तीहरूले पनि उसैगरी बक्सिसमा काठमाडौंको जमिन हात पारे ।

‘प्रजातन्त्र’ आगमनपछि तीव्रतर रूपमा काठमाडौंमा आवादी बढ्यो ।

पचासको दशकको अन्त्यसम्म देखिने काठमाडौंका खुल्ला फाँट, खेत, जमिन सिध्याउँदै माओवादी शान्ति प्रक्रियामा आएको केही वर्षभित्रै अब काठमाडौंमा खाली जमिन नै देख्न नसकिने अवस्था सिर्जना भएको छ । प्रारम्भमा जबर्जस्ती र ०४६ सालयता कौडीको भाउमा बेचेर अन्ततः काठमाडौंको जमिन रैथानेहरूको हातबाट सिद्धिएको छ ।

झेल
श्री ३ महाराज बनेपछि भीमशमशेरले तिब्बत युद्धको प्रयोजनका खातिर मुलुकीखानामा राखिएको तीन करोड रुपैयाँ युद्ध टरेपछि आफ्नो निजी निवास टंगाल दरबारमा लगेका थिए । अविवाहितपट्टिका बेरोलवाला हिरण्यशमशेर, रामशमशेरसहित तिनका छोराहरू सुवर्ण, महावीर लगायतलाई पनि भीमले रोलमा चढाएका थिए ।

जेठा छोरा पद्यशमशेरलाई पटक्कै नरुचाउने भीमशमशेरले माइला छोरा हिरण्यलाई आफ्नो हजुरिया जनरलमा नियुक्त गरेका पनि थिए ।

भनिन्छ, भीमले आफूमाथि सौता थपेपछि पद्यकी आमाको मानसिक सन्तुलन गुमेको थियो । भीमले बिहे गरेको सबैभन्दा कान्छी थिइन्, दिलकुमारी तामाङ । जसलाई भीमले महारानीको पदवी दिलाएका थिए । आफ्ना ससुराली परिवारका तामाङलाई क्षत्री पाण्डे बनाइदिएका थिए ।

तिनै प्रिय छोरा हिरण्यका लागि भीमले आफू महाराज बनेपछि बनाइदिएका थिए, स्थानीय ज्यापुहरूको स्वामित्वबाट जबर्जस्ती हडपेर विसं १९८७ मा लिएको २ सय ९९ रोपनी जमिनमा ललिता निवास । डिल्लीजङ्ग थापाले डिजाइन गरेका थिए, ललिता निवासको ।

२००७ सालको क्रान्तिको तयारी हिरण्यशमशेरको त्यही घरबाट भएको थियो र खर्च पनि तिनै हिरण्यले भरेका थिए ।

बीपीले लेखेकै छन्, पार्टीको आर्थिक भार सुवर्ण, महावीरहरूले भरेका थिए । सुवर्ण भीमपुत्र हिरण्यका छोरा थिए भने महावीर भीमपुत्र प्रकाशका छोरा । तिनै सुवर्णका सन्तान कनक, कञ्चन र रुक्महरूले बेचेका थिए, पिताको पालामै मुअब्जाको प्रक्रिया पार गरिवरि अधिग्रहण भैसकेको जमिन ।
त्यही २ सय ९९ रोपनी जमिनमध्य २ सय ८५ रोपनी जमिन पत्रिकामा सूचनासमेत जारी गरेर मुअब्जामार्फत सरकारले अधिग्रहण गरेको थियो, २०२१ मंसिर १७ सालमा भने १४ रोपनी तीन आना जमिन भने महेन्द्रको कदमको विरोधमा लागेका कारण सुवर्णशमशेरबाट जफत गरेका थिए, महेन्द्रले राजनीतिक प्रतिसोधका आधारमा ।

नेपाली कांग्रेसको स्थापना, राणा विरुद्धको सशस्त्र संघर्षका लागि हतियार खरिद, राणा विरोधी पर्चा छर्ने हेलिकप्टर सबैमा सुवर्ण र महावीरको धनराशि खर्चमा गरिएको थियो ।

पञ्चायतकालको संघर्ष, सशस्त्र संघर्ष, पार्टी सञ्चालनको मुख्य भार पनि उनै सुवर्णले बेहोरेका कारण अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सुवर्णपुत्र रुक्मशमशेरलाई राज्यले मुअब्जा दिइसकेको ११४ रोपनी मौजुद भूमि ऐनको हकबन्दी समेत लत्याएर फिर्ता दिने निर्णय गरेका थिए ।

नेताहरूका लागि आएको प्रजातन्त्रमा कानुन मान्नुपर्ने सर्वसाधारणले मात्रै हो, नेताले त जे गरे पनि हुन्छ भन्ने स्थापित गर्न भट्टराईपछिका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामात्रै नभई आफ्ना पिताले मुआब्जा दिएर अधिग्रहण गरेको जमिन फिर्ता गराउन तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष ज्ञानेन्द्रसमेत पछि परेनन् । हुँदा–हुँदा नियम, कानुन मिचेर घुसको बलमा बेचबिखन गराइएको जमिनलाई वैधता दिन गणतन्त्रकालमा समेत माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदले मौजुदा कानुनको चिरहरण गर्ने काम गर्‍यो ।

गणतन्त्रको चीरहरण

आजको दिनमा राजनीति त्यस्तो व्यवसाय भएको छ, जसमा पेसेवरहरूलाई नाफैनाफा छ ।

कस्तोसम्म भने कमसेकम ४ दशकदेखि सामान्य आम्दानीको कुनै कर्ममा नजोडिएको र तीन तोला सुन र एक कट्ठा जमिन लेखाएर सार्वजनिक राजनीतिमात्रै गरिरहेको नेता मध्यमवर्गीय अमेरिकीहरूसमेत हायल–कायल हुने खर्च लाग्ने उपचारका लागि अमेरिका लान्छन्, परिवारलाई ।

मन्त्री, सांसद हुनु अघिसम्म हवाइचप्पल लगाउनेहरू काठमाडौंमा राणाकालीन स्तरको महल बनाउँछन्, नभए पनि राणाका भित्रिनीपट्टिका सन्तानको स्तरका महल बनाउँछन् । त्यसको सार्वजनिक पारदर्शिता मागिनुलाई संवेदनाको बर्को ओढाएर जोगाउन तम्तयार चाकरीदारहरू नेतैपिच्छे तैनाथ छन् ।

भीमशमशेरले रैथाने किसानलाई दपेटेर अधिग्रहण गरेको जमिन गणतन्त्रका नेता कानुन र सार्वजनिक नैतिकतालाई दपेटेर आफ्नो बनाउँछन् ।

जनताको विश्वासमाथि मजाक गर्छन् र गणतन्त्रको खुलेआम चिरहरण गर्छन् । भीमशमशेरले अधिग्रहण गरेर बनाएको ललिता निवासको २९९ रोपनी जमिनमध्ये अहिले प्रधानन्यायाधीश निवास १४.१० रोपनी, सभामुख निवास ९.९ रोपनी, राष्ट्र बैंक ६० रोपनी, अतिथि निवास १.१, टिकिन्छा गुठी ३.१२ रोपनी बाहेकको जमिन अहिले राजनीतिक व्यावसायीहरूको निगाहा, मिलिभगत, साझेदारीमा आज माफियाहरूको मुनाफामा परिणत भएको छ । यसले गणतन्त्रको सौन्दर्य बढाउँछ कि चिरहरण गर्छ, मतियारज्यूहरू ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *