आजबाट २०७६ सुरुः एकआपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइँदै

काठमाडाैँ, १ बैशाख । आजदेखि नयाँ वर्ष २०७६ प्रारम्भ भएको छ ।  विसं २०७५ को बिदाइ र नयाँ वर्ष २०७६ को स्वागतमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आपसमा शुभकामना आदानप्रदान गरिंदैछ ।

विक्रम सम्वतअनुसार हरेक वैशाख महिनाको १ गतेदेखि नयाँ वर्ष सुरु हुन्छ । यस दिन सबै नेपालीले नयाँ योजना, नयाँ सोच र संकल्प सँगाल्दै म‌ंगल कामनाका साथ मनाउने गर्छन् ।

विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो। यो प्राचीन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो ।

यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रोमा वर्षको सुरूवात बैशाखको पहिलो दिनबाट हुन्छ । नयाँ वर्षको सुरूवात सामान्यतया ग्रेगोरियन पात्रोको अप्रिल महिनाको १३ वा १४ तारिकमा पर्दछ ।

विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बतमा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । विक्रम सम्बत प्राकृतिक रूपमा सञ्चालित हुँदै आएको छ । विक्रम सम्बतका बारेमा अनेकौं विवाद पनि प्रस्तुत भइरहेका छन् । विक्रम सम्बत नेपालको आदि सम्बत हो ।

यस अवसरमा समाजमा साहित्यिक कार्यक्रम, भेटघाट नाचगान, रमणीय स्थानको यात्रा तथा वनभोजको आयोजना गरी आपसमा नयाँ वर्षको शुभकामना व्यक्त गर्ने चलन छ ।

साथै विगत वर्षमा भएको तीता मिठा घटना तथा आपद् विपद् जस्ता अशुभ घडी यस वर्षमा नआओस् र सबैमा हर्षखुशी तथा शुभसमय छाइरहोस भन्ने कामना पनि गर्ने गरिन्छ ।

नेपाली समाजमा प्रचलित सौर्यमानको आधारमा गते बार र चन्द्रमानको आधारमा तिथि पर्व निर्धारण गरिएको नेपाली पात्रो यसै दिनदेखि परिवर्तन गरिन्छ ।

विक्रम संवत प्राचीन भारतवर्षका राजा विक्रमादित्यले प्रचलनमा ल्याएका हुन् । नेपालमा महत्वका साथ प्रयाेग गरिने याे संवत प्रणाली सूर्य पात्रोसँग सम्बन्धित रहेको छ । याे अङ्ग्रेजी पात्राेकाे इस्वी संवतभन्दा ५६ दशमलव ७ वर्षले अगाडि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *