वैश्य युगको समृद्धि चेतना

कृष्णप्रसाद पौडेल ,काठमाडौँ, २८ चैत ।  केही दिन पहिले लगानी सम्मेलनले राजधानी तात्यो । सरकार लगानी ल्याउनसके समृद्धि आउने सपनाले तरंगित भयो । लगानीका लागि प्रस्तावित परियोजना हेर्दा यस्तो लगानी भित्र्याएर गर्न खोजिएको समृद्धि भने नयाँ बोतलमा पुरानै रक्सीजस्तो हुन्छ ।

हिजोआज समृद्धि योजनालाई अन्तिम रूप दिने भन्दै विकास परिषदको बैठक चलिरहेको छ ।विडम्बना, प्राकृतिक स्रोतको अति दोहनबाट सम्भव भएको पश्चिमेली विकासको नक्कल नै अहिले हाम्रो समृद्धिको लक्ष्य बनेको छ । यसैको सिको गर्दै विकसित हुने होडबाजी चलिरहेको छ ।शाव्दिक अर्थमा केही भिन्नता देखिए पनि रूप र सारमा विकास र समृद्धिमा कुनै भिन्नता छैन ।

यो बदलिएको परिवेशमा विकासमा समग्रताको जलप लगाएर नयाँ देखाउन खोजिएको आत्मतुष्टि मात्र हो ।

बढी भए, केही गरी यसलाई विकासको अर्को रूपमा अर्थ्याउन सकियो भने यसले थोपरेको विनाश र परनिर्भरताको दासतालाई केही दिनलाई भए पनि गुन्द्रीमुनि लुकाउन सकिन्छ कि भन्ने समृद्धि सपनाका नायकहरूको मनको लड्डुसम्म हुन सक्ला ।

अहिले भनिएको समृद्धिले हामीलाई आधुनिक विकासको विनाशलीलाबाट बचाउने नभई यसले थोपरेका समस्याको दलदलमा रमाउन मात्र सिकाउने हो भन्नेमा कुनै द्विविधा नराखे हुन्छ ।अहिले बखान गरिएको समृद्धि भेद पाउन भने एकपटक विकास शव्दको अर्थ, मर्म र यसको बोलीचालीमा प्रयोगको विगततर्फ फर्केर हेर्न आवश्यक छ ।
विकास फ्रेन्च शव्दावली डेभलोपरको नेपाली अनुवाद हो । सत्रौं शताव्दीमा फैलाउने या विस्तार गर्ने भन्ने अर्थमा प्रयोग भएको यो शव्दको प्रयोगको विस्तार हुँदै, सात दशक अघिसम्म जैविक वृद्धि, रसायनको प्रयोगबाट फोटो बन्ने प्रक्रिया र घरजग्गा व्यवस्थापनको अर्थमा मात्र प्रयोग हुन्थ्यो ।
१९४९ जनवरी २० मा अमेरिकी सिनेटलाई सम्बोधन गर्दा तत्कालीन राष्ट्रपति ह्यारी ट्रुम्यानले दोस्रो विश्वयुद्धमा ठूलो सफलता हात पारेको अमेरिकाको अभिमान र बर्चस्वको विम्ब प्रस्तुत गर्दै ‘अविकसित’ क्षेत्रको उन्नतिका लागि वैज्ञानिक उपलव्धि र औद्योगिक प्रगतिको भरपुर उपयोग गर्दै युरोपेलीलाई सघाउन तयार हुनुपर्छ भनेका थिए । यो भनाइ यथार्थमा दोस्रो विश्वयुद्धमा ध्वस्त भएको युरोपको पुनर्निर्माणको दायित्व अमेरिकाले समेत लिनुपर्नेछ भन्ने सन्दर्भमा व्यक्त भएको हो ।
ट्रुम्यानको यो उपनिवेश र प्रभुत्वको प्रायोजित व्याख्याले बाह्य स्रोतमा आधारित औद्योगीकरणको जग नै विकासे हुनुको मूल आधार हो भन्ने मान्यता स्थापित गर्न सफल भयो । यसरी विकास पश्चिमेली एकाधिकारको रूपमा व्याख्या भयो भने अविकासे भनिने अन्य सबै तिनै विकासेको सिको गरेर मात्र आधुनिक, सभ्य, सुखी र समृद्ध मानिस हुन सक्छन् भन्ने मूल प्रवाहको मान्यता स्थापित गर्न सफल भयो ।

हुन त यो ‘अविकसित’ भन्ने शव्द समाज विकासको सन्दर्भमा यसभन्दा पहिले पनि प्रयोग भएको थियो ।

गुस्ताभो इस्तिभाका अनुसार १९४२ मा वाइल फ्रेड बेन्सनले पछौटे क्षेत्र र १९४४ मा रोसेन्टाइन रोडानले आर्थिक रूपले पछौटे क्षेत्र र त्यसै वर्ष अर्थुर लुइसले धनी र गरिब बीचको खाडल भनी अविकासको समाजशास्त्रीय सन्दर्भ उठाएका थिए ।
यिनीहरूले त्यति महत्त्व पाएनन् । तर यसको ५ वर्षपछि शक्तिशाली देशका राष्ट्रपतिले उठाएको अविकासको प्रसंगले भने यो शव्दलाई समाजको उन्नति र प्रगतिको अर्थमा मात्र सीमित राखेन । यसले असभ्य र अमर्यादित जिन्दगी बिताउने अविकासेहरूलाई विकासे हुनैपर्ने लघुताभास थोपर्न सफल भयो । अहिलेको समृद्धि रटान त्यसैको उपज हो ।
त्यसपछिका दिनमा विकास धेरैका लागि आर्य विचार बन्यो । यो अहिलेसम्म सबैभन्दा धेरै बोलिने र लेखिने शव्दमात्र बनेन, सभ्य–असभ्य, मर्यादित–अमर्यादित मानिस, समुदाय र क्षेत्र बीचको लक्ष्मणरेखा कोर्ने मूल मापदण्ड बन्यो । यसले विकसित र अविकसित, उच्च र नीच, हुने र नहुने, ठूलो र सानो, राम्रो र नराम्रो, धनी र गरिब छुट्याउँदै मानिस, समाज र प्रकृतिबीच मान र अपमानको रेखा कोर्न सिकायो ।

जसका कारण मानव सभ्यतामा कहिल्यै पुर्न नसकिने विभेदको खाडललाई झनै गहिरो बनाउँदै लग्यो ।

यसले विभेदका रंगलाई अझ गाढा बनाउँदै सामाजिक समूहलाई एकआपसमा विभाजित हुन र निहित स्वार्थका आधारमा पक्षपोषण गर्न उक्सायो ।यसले समग्र प्रकृतिको दोहनलाई सक्ताशत्तिको आडमा वैधतामात्र दिएन, यस्तो बिगार नगर्ने अभ्यास, सभ्यता र संस्कृति भएका समुदाय, समाज र क्षेत्रलार्ई अविकसित र पछौटेको संज्ञा दियो । यो दिनदेखि संसारभरका आदिवासी, जनजाति र फरक जीवन पद्धति भएका अन्य लाखौं समुदाय रातारात अविकसित र पाखे हुनपुगे ।
विकासको यो जोड–घटाउले हजारौं वर्षको प्रकृतिसँगको सहअस्तित्व र पारस्परिक अन्तर–सम्बन्धबाट उन्नत भएको विविधतापूर्ण मानव सभ्यता र संस्कृतिलाई ७ दशकमै जगैदेखि हल्लाइदियो ।

अहिले विकसित हुनु भनेको पश्चिमी जीवनशैली जस्ताको तस्तै नक्कल गर्नु हो भन्ने आम मान्यता स्थापित भएको छ ।

यसले अहिलेको उपनिवेश र प्रभुत्वमा आधारित पश्चिमेली मूलतः भौतिक विकासको ढाँचामाक्र ठिक र अरु सबै विविधता र समताका मूल मर्ममा आधारित समाज विकासत्रमको ऐतिहासिक कालखण्डमा निर्मित सभ्यता र संकृति बेठिक भन्ने परनिर्भर मानसिकताको लघुताभास थोपरेको छ ।

त्यसैले त सके त्यसको नक्कल यतै बसेर गर्ने, नसके उतै जाने मानसिकता नेपाली समाजमा बढेको छ ।

भौतिक विकासको तीव्र आकांक्षाले गरिएको प्रकृतिको अति दोहन नै अहिलेको माटो, मानव स्वास्थ्य र पर्यावरणीय समस्याको मूल कारण बनेको छ । यसको प्रत्यक्ष प्रभाव मानिस, समाज र प्रकृतिको अन्तर–सम्बन्धमा परिरहेको छ । माटोको उत्पादन क्षमता र उत्पादकत्वमा आएको ह्रास, मानिसमा नसर्ने दीर्घरोगको बढ्दो प्रकोप र जलवायु परिवर्तनको असर र प्रभाव थपिँदै गएको छ ।

यस्तो विकासको असर र प्रभाव अहिलेका अविकसित भनिने समाजमा झनै पेचिलो छ ।
अघिल्लो दिनसम्म गरिबी र अभाव के हो भन्ने सुइँकोसमेत नपाएका आममानिस बाहिरी सहायताका आसमा आफ्नै समुदायलाई धनी र गरिब, हुने र नहुनेका कित्तामा विभाजित गर्न उद्यत छन् । त्यतिमात्र कहाँ हो र ? आफैलाई अविकसितको प्रमाणपत्र थमाउँदै गरिब र विपन्नताको असली दाबेदार बनाएर हीनताबोधको सिकार भैरहेका छन् ।

हालैमात्र वितरण गरिएको गरिबीको परिचयपत्रमा गरिएको धाँधली, दातासँग गरिएका याचना र लगानी सम्मेलन केही उदाहरणमात्र हुन् ।

विकासका नाममा गलत दिशातर्फको हाम्रो यात्राले सिंगो मानव सभ्यतालाई अब मानव, समाज र प्रकृतिको अन्तरनिर्भरता पुनर्निर्माण गर्न सकिन्न कि भन्ने घुम्तीमा पुर्‍याएर छाडेको छ । बेलायती भौतिकशास्त्री स्टेफेन हकिङ्सको भविष्यवाणी होस् या अन्य वैज्ञानिक खोज सबैको एउटै निष्कर्ष छ : पृथ्वी वाब्रह्माण्डमा हुने प्राकृतिक उतार–चढावले सम्पूर्ण जैविक प्रक्रिया नष्ट हुने परिस्थिति बाहेक मानव सभ्यताको अन्त्य मानिसले समयमै बाटो फेर्न नसकेको कारणले मात्र हुनेछ ।
यस्तो अवस्थाको चित्रण गर्न खानेकुरा र यसको मूल स्रोत कृषि प्रणालीमा देखिएको विकराल समस्या नै काफी छ । अहिले हावा र पानीपछि जीवनका लागि नभई नहुने खानेकुराको उत्पादन रसायन, विषादी, हर्मोन र नसड्ने प्लाष्टिकले विषाक्त भएको छ । हाम्रो हठ गाईगोठ र खेतबारीमा यिनै विषाक्त कृत्रिम रसायनको प्रयोग गरी खेती गरेर माटोलाई मरुभूमिकरण, पर्यावरणलाई प्रदूषित र मानव स्वास्थ्यलाई नसर्ने दीर्घरोगले आक्रान्त बनाउनमा मात्र उद्यत छ ।
हामी अहिले पैसा रोपेर पैसै फलाउने र यसैलाई खाएर बाँच्ने सपना बोकेको वैश्य युगको कृत्रिम मानिसको झुन्डको पछि लागेका छौँ । लगानी सम्मेलनमा रासायनिक मल कारखानाको सोकेश परियोजना यसको एउटा ज्वलन्त उदाहरण हो । यस्ता वैश्यहरू रसायन र कृक्रिम रसायनमा आधारित विषात्त खानेकुरा उत्पादन गर्न र यिनै खाना खान आम मानिसलाई बाध्य बनाउन उद्यत छन् ।

यीमध्ये केहीले विषाक्त खानेकुरा र अस्पतालको व्यापार सँगसँगै चलाएका छन् ।

यिनीहरू मानिसलाई पहिला बिरामी बनाउँछन्, अनि तिनको उपचार पनि आफै गर्छन् । अर्को अर्थमा यिनीहरू आफै बोक्सी आफै धामी बनेका छन् । यो जनसेवाको आडम्बरभित्र जसरी पनि पैसामात्र कमाउने निहित उद्देश्यमा आधारित छ ।
अन्त्यमा, मानवजाति यात अहिलेको वैश्य युगबाट जैविक युगमा पुग्नेछ या केही समयभित्रै यसको सधैंका लागि अन्त्य हुनेछ । केही वर्ष अघिसम्म एच.पी. रुचको यो भनाइसँग धेरै मानिस सहमत थिएनन् । तर अहिले यसबारे आम मानिसबीच चर्चामात्र हैन, चिन्ता, चासो, खोज र विश्लेषण हुनथालेको छ ।
ल्याटिन अमेरिकी आदिवासी अगुवाले भनेझैं ठूलो परिणाममा प्रकृतिको नाश भएपछि मात्र हामीलाई थाहा हुनेछ, पैसा खाएर बाँच्न सकिँदैन । उनको यो मार्मिक भनाइलाई समयमै आत्मसात गर्न नसके प्रकृतिको अति दोहनले ल्याउने समृद्धि नै मानव सभ्यताको इहलीलाको कारक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *