परीक्षाको ‘भूत’ र भविष्य

टीका भट्टराई काठमाडौँ , २७ चैत ।ईसाको सुरुदेखि नै औपचारिक रूपमा सरकारी सेवामा कर्मचारी छान्न चीनमा परीक्षा प्रणाली अपनाइयो । मन्दारिन चिनियाँ भाषामा हामीले प्रयोग गर्ने संस्कृत शब्द परीक्षाको नजिकको समानार्थी शब्द ‘स्शि’ हो ।

यसको अर्थ पुरानो शासकीय शब्दावलीमा ‘जाँची, हेरी, छाडिदिने’ भन्ने आशयको नजिक देखिन्छ ।आधुनिक व्यवस्थापनमा अग्रणी मानिने युरोपले पनि यस मामिलामा चीनबाटै सिकेको देखिन्छ ।

यद्यपि त्यहाँ परीक्षाको प्रयोग सेवाको लागि योग्य व्यक्ति छान्नभन्दा शैक्षिक क्षमता पहिचान गर्नु देखिन्छ ।

युरोपमा परीक्षाको लिखित विधि अठारौं शताब्दीमा मात्र बोलोन्या (स्पेन) मा प्रयोग भएको हो, जहाँ औषधी विज्ञानका विद्यार्थीले व्यवहारको सपथ र ज्ञानको परीक्षा दिन्थे ।परीक्षाका लागि प्रयोग हुने मूलतः दुई ल्याटिन भाषाका शब्दमध्ये ‘एक्जामेन’ शब्दको अर्थ ‘तुलाको टुप्पो’ हो ।

यस दृष्टिले अंग्रेजीमा प्रयोग गरिने शब्दको अर्थ जोख्ने भन्ने बुझिन्छ । अर्को शब्द ‘टेस्ट’ चाहिँ ‘टेस्टुम’ बाट आएको हो, जसको शब्दार्थ ‘माटाको भाँडो’ हो । यसको मतलब माटोको भाँडो कति बलियो भनेर निश्चित दूरीबाट खसाल्नु भन्ने बुझिन्छ ।

समानार्थी शब्दको खानी रहेको संस्कृत भाषामा पनि परीक्षालाई बुझाउने अरू शब्द त्यति भेटिन्नन् ।

ज्ञानको परम्परा लामो रहिआए पनि कहिलेदेखि यसको प्रयोग भयो भन्ने बारेमा पर्याप्त अनुसन्धान भएको देखिन्न । परीक्षा शब्दको व्युत्पत्ति परि+इक्ष्+आ अर्थात् चारैतिरबाट हेर्नु हो । यो शब्दको प्रयोग प्रशस्त भएको देखिन्छ ।
नीति शास्त्रको ‘…आपत्तिकाले गृहिणी परीक्षा…विद्यावतां भागवते परीक्षा’ संस्कृत शिक्षण परम्पराबाट आएका व्यक्तिहरूका लागि परिचित सन्दर्भ हो । अनौपचारिक रूपमा संस्कृत शिक्षा लिने भुक्तभोगीका विचारमा पूर्वीय परम्परामा अघिल्लो पाठ नबुझाई अगाडि नबढ्ने भएकाले परीक्षा ज्ञानका लागिभन्दा व्यवहारका लागि लिने गरिन्थ्यो । परीक्षा खास अवधिमा भन्दा शिक्षार्थीको उमेर र परिस्थितिले निर्धारण गर्थ्यो ।

भारतमा बेलायतको औपनिवेशिक प्रभाव परेपछि युरोपेली परीक्षा प्रणालीको छाप रहनु स्वाभाविक नै हो ।

 

परीक्षाको समानार्थी उर्दूको ‘इम्तिहान’ शब्द हेर्दा यसले पनि क्रमिक निगरानीकै अर्थ बोक्छ, ‘जिन्दगी इम्तिहान लेती हैं….’ जसको मतलब मुगल कालमा पनि औपचारिक परीक्षाको विशेष व्यवस्था स्थापना भएको थिएन । यसबारे पनि पर्याप्त अध्ययन हुन बाँकी देखिन्छ । औपनिवेशिक परीक्षाले विद्यार्थी परीक्षणको अधिकार सम्बन्धित शिक्षकबाट अन्यत्र र विशेषगरी प्रशासकहरूकहाँ पुर्‍यायो ।

परीक्षा राज्यको एक विषय भयो । एक हिसाबले परीक्षाको प्रमाणपत्र राज्यले निष्काशन गर्ने नोटजस्तै भयो । परीक्षामा राज्यले प्रमाणित गर्ने प्रणाली ज्ञानमा राज्यको प्रभावको एक महत्त्वपूर्ण पक्ष हो । प्रधानमन्त्री विश्वविद्यालयका कुलपति हुने, यसै शृंखलाको एक कडी हो ।

स्वाभाविक रूपमा चीनबाट युरोप हुँदै भारत आएको परीक्षा प्रणालीको प्रभाव नेपालमा रह्यो ।

संस्कृतका विद्यार्थी बनारस र म्याट्रिकको जाँच दिने पटना जाने गर्थे । भारतमा जस्तै नेपालमा परीक्षा यति महत्त्वपूर्ण भयो कि हामी शिक्षा पनि बिर्सन लाग्यौँ ।

जसरी मुद्राबिना समाजको परिकल्पना गर्न सकिन्न, त्यसरी नै अब प्रमाणपत्र बिना सामाजिक जीवनयापन गर्न सकिन्न । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन लागू भएपछि राज्यको सेवा पाउन र बन्द–व्यापार गर्न पनि आधारभूत तह पार गरेको प्रमाणपत्र हुनुपर्ने भएको छ । यसले परीक्षालाई थप महत्त्व दिलायो ।
नेपालमा एसएलसीको परिणाम अक्षराङ्कन प्रणालीमा लगिएपछि डी वा त्योभन्दा तल अङ्क ल्याउने प्रकारान्तरले अनुत्तीर्णजस्तै हो । अनुतीर्ण हुनेहरूका आत्महत्याका घटना भने कम सुनिएका छन् ।
अहिले यसको स्वरूप परिवर्तन भएको छ । भारतमा हालै एक समाचार प्रकाशित भयो ः दुइटा गोली लागेका बाबु आफ्नी छोरीलाई परीक्षास्थल पुर्‍याएर मात्र अस्पताल गए ! यो उच्च समर्पण कि बलिदान ? जीवनभन्दा पनि परीक्षा महत्त्वपूर्ण ? परीक्षा एक आतङ्क भएको छ ।

दुनियाँमा यसबारे विचार, बहस र विकल्पको अभ्यास सुरु नभएको होइन ।

हाम्रा शिक्षाविद्/शिक्षाशास्त्रीले यसबारे बोले भनेको सुनिँदैन । परीक्षा किन चाहिन्छ या चाहिन्न भनेर छलफल गर्ने बेला भइसकेको छ ।
अर्थतन्त्र बलियो भएका देशले जे गरे पनि राम्रो मान्ने हाम्रा शिक्षाका उच्च पदाधिकारी र नेताहरू ती देशले परीक्षाबारे गरेका विचारमा ध्यान दिनुभन्दा मक्ख परेर परीक्षा निरीक्षणमा मात्र निस्केको देखिन्छ । सञ्चार माध्यममा खबर आउँछ– ‘परीक्षा शान्तिपूर्ण’ ।
मानौं यो युद्ध हो । शिक्षाका अधिकारीहरूको सुरक्षा र निरीक्षणमा जनशक्ति थप्ने विचार आउँछ, परीक्षा सुधार गर्ने विचारमा पर्याप्त ध्यान गएको देखिँदैन । सिङ्गापुर जस्ता देशले झैं विद्यालय तहका परीक्षा प्रणाली बन्द गर्ने आँट र परिस्थिति नभए पनि हाम्रै देशमा पनि प्रश्न र परीक्षा सुधार गर्न सकिन्छ । यसतर्फ पर्याप्त ध्यान गएको छैन ।
हाम्रो विचार प्रशस्त अर्कातिर चाहिँ जाँदैछ । विद्यार्थी पढाइ राम्रो नभएर उत्तीर्ण भएनन्, अनि उदार कक्षोन्नतिको तुरूप आयो । शिक्षकले आफ्नो अनुत्तीर्ण गराउने ताकतको उपयोग गर्न पाएनन्, अनि भने– उदार कक्षोन्नतिले विद्यार्थी अल्छी भए । निरन्तर मूल्याङ्कनचाहिँ गराएनन् । कति, कस्तो र कुन हदको परीक्षा आवश्यक छ भनेर छलफल हुन आवश्यक छ ।

परीक्षाको पक्षमा

जीवहरू प्रतिस्पर्धी हुन्छन् । मानिस पनि प्रतिस्पर्धी जीव हो । परीक्षाको प्रतिस्पर्धाले विद्यार्थीको सिकाइमा प्रयत्न र सतर्कता बढाउँछ भन्ने परीक्षालाई आवश्यक ठान्ने पक्षको मूल तर्क हो । सिकाइ सरल हुँदै जटिलतातर्फ लैजानुपर्ने हुन्छ । आमरूपमा शिक्षण श्रेणीगत रूपमा गर्नुपर्ने हुन्छ । यसका लागि परीक्षा आवश्यक छ भन्ने यो पक्षको अर्को तर्क हो ।
परीक्षाको अर्को कुरा तुलनीयता र छटनी हो । सक्षम र प्रतिस्पर्धी व्यक्तिलाई जिम्मेवारी र अवसर दिनुपर्छ भन्ने उनीहरूको थप तर्क हो । सबैलाई एकैपटक परीक्षा लिन सकिन्न, त्यसैले तह आवश्यक छ भन्ने व्यावहारिक पक्ष हो ।
जाँच अनुभव साझा बनाउने अर्थात सामाजिकीकरण गर्ने माध्यम पनि हो । सबैले एकै किसिमका कुरा पढेपछि साझा भावना बन्छ । यो पक्ष कुनै विचार, राजनीतिक विचारधारा र राष्ट्रियता जस्ता विषय प्रबर्द्धन गर्न आवश्यक मानिन्छ ।

अमेरिकी सार्वजनिक शिक्षाका अभियन्ता होरास म्यान यस दृष्टिकोणका हिमायती थिए ।

साझा अनुभव राज्यको सर्वोपरिता स्थापना गर्ने माध्यम हो । शिक्षाले यस्तो अनुभूति स्थापना कुन हदसम्म आवश्यक छ भन्ने अर्कै छलफलको विषय हो । इभान इलिच जस्ता व्यक्तिहरूले औपचारिक शिक्षाले कसरी सम्भ्रान्त वर्गीय दृष्टिकोण र धारणा प्रबर्द्धन गर्छन् भन्ने दह्रो तर्क गरेका छन् ।

परीक्षा विपक्षी तर्क

परीक्षा तनावमा काम गर्न सक्ने खुबीको पनि परीक्षा हो भनिन्छ ।

अधिक तनावले स्मरण र पुनर्कथन गराउला, तर सिर्जनशीलता नष्ट गर्छ भन्ने एकथरी शिक्षाशास्त्रीहरू छन् । शिक्षाका पियाजे वा मन्टेसरी जस्ता दिग्गजहरू केटाकेटीहरू आफैँ सिक्छन् र सिक्ने वातावरणमात्र बनाए पुग्छ भन्छन् । अर्थात स्मरण र पुनर्कथन परीक्षामा आवश्यक छैन ।
नयाँ विश्वलाई सिर्जनशीलता चाहिएको र अब ज्ञानका लागिमात्र सिक्ने आवश्यकता सकिएको विचार राख्नेमा सर केन रविन्सन र रिकार्डो सेम्लर जस्ता प्रभावशाली व्यक्ति छन् । यिनका भनाइलाई साँघुरो शिक्षाशास्त्रीका दुनियाँले टेरिसकेको छैन । अष्ट्रेलिया जस्तो देश त अझै चोराइ विरोधी ऐन बनाउँदैछ ।
कति व्यापारिक घरानाहरू परीक्षामा उच्च अङ्क ल्याउनेहरूलाई आफ्ना काममा लिन चाहँदैनन्, किनभने उनीहरूमा ज्ञानको दम्भ र अहङ्कार धेरै हुन्छ । जबकि सफलताका लागि सम्झौता र विनम्रताको जरुरी हुन्छ, जो वर्तमान परीक्षा प्रणालीले नाप्न सक्दैन । यसो भनिरहे पनि अध्ययन र अनुभवहरूले के देखाएका छन् भने उच्च अङ्क ल्याउनेको सफलता उच्च छैन । तर सरदरमा उच्च अङ्क ल्याउनेहरू सरदरमा बहुसंख्यामा सफल छन् ।

सिकाइका लागि एक तहमा तनाव आवश्यक पनि मानिएको छ ।

तसर्थ तत्काल परीक्षा हटाउन जरुरी छैन र सकिन्न पनि । परीक्षा प्रशासनमा भन्दा परीक्षा प्रणालीमा सुधार गर्न बढी ध्यान दिनुपर्छ । प्रतिभाशाली र सरदर व्यक्तिहरूबीच सन्तुलन आवश्यक देखिन्छ ।
यसको मापन गर्ने उपयुक्त विधि र तरिकाहरू छन् । परीक्षालाई शक्ति अभ्यासको आत्मरतिबाट चाहिँ बाहिर ल्याउनुपर्छ । अहिले कसैले पनि मात्र प्राप्ताङ्क हेरेर कुनै व्यक्तिका बारेमा निर्णय गर्दैन भने त्यसलाई किनअझै हाउगुजी बनाएर राख्ने ?
पर्याप्त प्रमाणपत्र नभएका भनेर स्थानीय नेताहरू अन्तर्गत काम गर्न नमानिरहेका शिक्षकलाई नै यस्तो काम जिम्मा दिऊँ ! उनीहरूलाई विश्वास गरेर केही हानि हुँदैन । हरेक विद्यालयले नै एसईईजस्तो परीक्षा लेओस् ।
लेखक शिक्षानीति तथा अभ्यास केन्द्रसँग सम्बन्धित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *