बच्चा र बच्चीमा विभेदै–विभेद

रोश्ना सुब्बा ,काठमाडौँ, २६ चैत ।  नाम चलेको र राम्रो मानिएको काठमाडौंको एक निजी विद्यालयमा केही हप्ताअघि म शैक्षिक प्रदर्शनी अवलोकन गर्न गएकी थिएँ । आधारभूत तहका विद्यार्थीले आफै बनाएका सामग्रीको प्रदर्शनी कार्यक्रम थियो । मूलद्वारदेखि प्रदर्शनी कक्षमा पुगुन्जेल स्वागतका लागि ठाउँ–ठाउँमा छात्रा उभिएका थिए ।

विद्यालयका विभिन्न कक्षाकोठामा विद्यार्थीहरू आफूले तयार पारेका सामग्री प्रदर्शन गर्दै थिए ।

पेसा, व्यवसाय र प्रविधि विषय अन्तर्गत बनाइएका सजावटका सामग्री रहेको स्टलमा छात्रा जानकारी दिँदै थिइन् ।स्टेम (साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स) सँग सम्बन्धित स्टलका विभिन्न सामग्री तथा डिजाइन छात्रहरूले तयार पारेका थिए ।

उनीहरू नै व्यख्यासहित प्रस्तुत गर्दै थिए । ३/४ जनाको समूह बनाइएको थियो । सबै छात्र थिए । आआफ्नो भागमा परेको जानकारी पालैसँग प्रस्तुति गर्दैथे । समूहलाई नेतृत्व गर्ने, समूहमा काम गर्ने, दर्शकका अगाडि आफ्ना सामग्री प्रस्तुत गर्ने यस्तो अवसरले विद्यार्थीमा सञ्चार र नेतृत्व सीप विकास हुन्छ ।

आत्मविश्वास बढ्दै जान्छ । स्वागत, सत्कार र सजावटमा बसेका छात्राहरूको तुलनामा यस्तो सीप छात्रहरूले नै बढी सिक्ने भए । क्रियाकलाप र सहभागिताका हिसाबले मलाई त्यस्तो लाग्यो ।मन खिन्न थियो । कहलिएको स्कुलमा ‘स्टेम’को प्रदर्शनीमा छात्राको सहभागिता थिएन ।

आधारभूत तहमै यस्तो स्थिति भएकाले होला, माथिल्ला कक्षामा हुने विभिन्न प्रतियोगिता तथा कार्यक्रममा स्टेममा छात्राको उपस्थिति देख्न पाइँदैन । सरस्वती निकेतन माध्यमिक विद्यालय, काठमाडौंकी प्राचार्य रविना महर्जनलाई पनि यस्ता खाले दृश्यले निकै चोट पुर्‍याएको छ ।

उनी आफै विज्ञान विषयकी शिक्षक हुन् ।

कक्षा ८ र ९ का छात्राहरू लिएर उनी अन्तर्राष्ट्रिय नारी दिवसमा आयोजित एक कार्यक्रममा गएकी थिइन् । त्यहाँ अरु विद्यालयका छात्राहरू पनि थिए । छात्राहरूलाई इन्जिनियर, डाक्टर र एस्ट्रोनट अर्थात अन्तरिक्ष यात्रीको चित्र बनाउन लगाइएको थियो । धेरैजसोले पुरुष पात्रको चित्र बनाएका थिए ।
यो दृश्यले उनलाई साह्रै बिझायो र उनले आफैलाई सोधिन्, ‘उनीहरू पनि डाक्टर, इन्जिनियर वा अन्तरिक्ष यात्री बन्न सक्छन् भनेर किन उनीहरूले आफूलाई त्यहाँ देख्न सकेनन् ?’ कोर्स सक्न बढी र उनीहरूमा आत्मविश्वास जगाउन र प्रेरित गर्न शिक्षकले कम समय दियौं कि भन्ने प्राचार्य महर्जनलाई लागेको छ ।
परिवारमा, समाजमा रोलमोडल नभएर वा नदेखेर विद्यालयमा छात्राहरूलाई उत्प्रेरित गर्ने वातावरण नभएर वा शिक्षकहरू नै यस्ता विषयमा अनभिज्ञ भएर पनि यसो भएको हुनसक्छ । यस विषयसँग सम्बन्धित शिक्षक कम भएर पनि हुनसक्छ । युनेस्कोको एक प्रतिवेदन अनुसार नेपालमा १० वटा गणित विषयका कक्षा अवलोकन गर्दा १० मध्ये ९ जना पुरुष शिक्षक थिए । विज्ञानका कक्षामा १० जनामा ८ जना पुरुष शिक्षक थिए ।

अर्को एक प्रतिवेदनको अनुभव पनि समेट्दैछु । रिर्पोटिङका क्रममा म ललितपुरको एक विद्यालय पुगेकी थिएँ ।

पहिलो पटक कपाल काट्ने संस्कार गर्न बाँकी रहेकाले कक्षा २ का एक विद्यार्थीको कपाल लामो थियो । उनकी आमाले चुल्ठो बनाइदिएकी थिइन् । साथीहरूले केटीजस्तो भनेर जिस्काउँदा उनलाई निकै रिस उठ्दो रहेछ ।
उनले मसँग त्यस्तो गुनासो गरिरहँदा शिक्षकले केटाहरूको कपाल पनि लामो हुन्छ, यो असामान्य होइन भनेर कसैको उदाहरण दिएनन् । प्रयास गरेनन् ।केही समय उनीहरूसँग मनपर्ने रंगबारे कुरा भयो । धेरै छात्रालाई राम्रो लाग्ने रंग गुलाफी अर्थात पिंक । तर छात्रहरूलाई पटक्कै मन नपर्ने रंग पो रहेछ यो । उनीहरूको सोचाइमा यो केटीको कलर रे ।
आखिर ठूलाले भनेको सुनेर नै उनीहरूले सिकेका हुन् । रातो गलबन्दी लाउने, गुलाफी सर्ट लाउने केही पुरुष साथीलाई सम्झेँ । उनीहरूलाई यो कक्षामा ल्याउन पाए त उनीहरूको सोचबद्लिन्थ्यो जस्तो लाग्यो ।
रंग मात्र कहाँ हो र ? खेलको रोजाइ पनि फरक–फरक । छात्रालाई पुतली, डोरी खेल्न मनपर्ने । छात्रको रोजाइ फुटबल । उनीहरूका लागि डोरी त केटीहरूको पो गेम हो रे । डोरी खेल्नु सबैका लागि राम्रो शारीरिक अभ्यास हो भनेर बुझाउनसकेको खोइ त ? केटी वा केटाहरूको रोजाइ या क्षमताका विषय फरक–फरक हुनु सामान्य र स्वाभाविक मानिन्छन्, कतिपय विद्यालयमा । कक्षाकोठामा उनीहरूको रुचि नै यस्तै छ, हामीले के गर्ने ? हामीले फरक व्यवहार गरेको छैन भन्छन्, कतिपय शिक्षक । आफ्नो भोगाइ वा हुर्काइकै कारण वा पर्याप्त जानकारी नपाएर पनि यसो भएको हुनसक्छ ।

कति किताबमा पनि यस्तै विभेदपूर्ण चित्र र प्रसंग भेटिन्छन् ।

घरको काम आमाले अनि अफिसको काम बाबाले गरेको । डाक्टरको चित्र पुरुषको । नर्सको चित्र महिलाको । साना बालबालिकालाई कतिपय कथा सुनाउँदा केटी राम्री अनि राजकुमारले उनलाई मनपराएको बचाएको अर्थात केटा शक्तिशाली केटीचाहिँं कमजोरजस्तो सोच विकसित हुनसक्ने खाले कथा सुनाइन्छ । विभिन्न उदाहरण दिएर किताबमा भएका यस्ता कुरालाई शिक्षकले सच्याइदिएर बुझाइदिए उनीहरूको सोच र सिकाइ फरक हुन्छ ।
हामी अभिभावक खासै सचेत हुनसकेका छैनौं । विद्यालय जानुअघि नै हामीले अन्जानमा केटाकेटीमा यस्ता सोच बनाइदिइसकेका हुन्छौं, जुन सजिलै बदल्न गाह्रो हुन्छ वा समय लाग्छ । जस्तो– खेलौना छान्दा छोरालाई गाडी, हेलिकप्टर, फुटबल अनि छोरीलाई पुतली, भाँडाकुटी, रिङ । यसको छाप स्कुलमा गएपछि उनीहरूले छान्ने खेलमा देख्न सकिन्छ ।
छोरीलाई पनि हेलिकप्टर दिएर हेरौं न । खेल र मनोरञ्जनका लागि बनाइएका रक क्लाइम्बिङ गर्न लगौं न । विकल्प दिएर हेरौं । महिलाले प्लेन उडाएको सुनाऔं । देखाऔं । यसो नगर्दा नै आफ्नै केटाकेटीले हामीलाई पत्याउँदैनन् ।
एक छिमेकी सधैं स्कुटर लिएर कक्षा ६ मा पढ्ने उनको छोरोलाई लिन स्कुल जान्थिन् । एकदिन ठूलो पल्सर बाइक लिएर गइन् । छोरो चढ्न माने पो । फेरि घर फर्केर स्कुटी नै लिएर जानुपर्‍यो । यस्तै छोरा मान्छे सितिमिती रुनु हुँदैन, बहादुर हुनुपर्छ, रोयो भने कमजोर हुन्छ भनेर सानैदेखि छोरालाई भनिन्छ । सिकाइन्छ ।

त्यसैले ठूलो हुँदै जाँदा जति नै उकुस–मुकुस भए पनि उनीहरू दुःख, तनाव लुकाउन खोज्छन् ।

प्रियजन बित्दासमेत आँसु रोक्न खोज्छन् ।जबकि अध्ययनबाट प्रमाणित भइसकेको छ– दुःख पर्दा जब रोइन्छ, उदासी तनाव कम हुन्छ । सामाजिक मूल्य–मान्यताका कारण छोरा मान्छेको भूमिका यस्तो हुनुपर्छ, अनि छोरीको त्यस्तो हुनुपर्छ भन्ने लैंगिक भेदभाव हुने खालका सोच सानैमा स्थापित भयो भने बालबालिका हुर्कंदै जाँदा आफ्नो व्यवहार त्यसै अनुरुप देखाउन थाल्छन् ।

यसले गर्दा पढाइको विषय छनोटदेखि पेसा, व्यवसाय रोजाइ र अवसरसम्ममा असर परिरहेको हुन्छ ।सबै बालबालिकामा क्षमता हुन्छ । अनुकूल वातावरण पाए उनीहरूले आफ्नो क्षमता देखाउन सक्छन् । केटा वा केटी भएकाले उनीहरूले यो गर्नुपर्छ वा त्यो गर्नु हुँदैन भनी उनीहरूको रुचि र क्षमतालाई सीमित पार्न हुँदैन ।
हामीले आफ्नो सोच र व्यवहार बदल्दै बालबालिकालाई सानैदेखि लैंगिक भेदभावरहित व्यवहार गर्नुपर्छ । जहाँ लैंगिक समता हुन्छ, त्यहाँ हिंसाको सम्भावना कम हुन्छ । परिवार सुन्दर र समाज स्वस्थ बन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *