प्रधानमन्त्रीकाे अठोटः तुइनमुक्त बनाउने काम अन्तिम चरणमा

काठमाडौँ, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको अठोट अनुसार अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेका तुइनलाई झोलुङ्गे पुलबाट विस्थापित गरेर मुलुकलाई तुइनमुक्त बनाउने कार्य अन्तिम चरणमा पुगेको छ ।

तुइनको पहिचान भई झोलुङ्गे पुल बनाउन सम्भव भएका स्थानहरुमा आगामी आर्थिक वर्षभित्र तुइन विस्थापित गर्ने कार्य पूरा हुने भएको छ ।

प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा सिंहदरबारमा पदभार ग्रहण गर्दै मुलुकमा रहेका तुइन दुई वर्षभित्रमा झोलुङ्गे पुलले विस्थापित गरिने सरकारको पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । उहाँले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय अनुमोदन गरेको थियो ।

सस्पेन्सन ब्रिज डिभिजन (एसबीडी) कार्यालयका योजना प्रमुख कुमार थापाले तुइनलाई झोलुङ्गे पुलले विस्थापित गर्न सम्भाव्यता अध्ययन भएका १३६ वटामध्ये ११५ वटा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

कार्यालयका अनुसार, बाँकी रहेकामध्ये अहिले १५ वटा झोलुङ्गे पुलको निर्माण कार्य भइरहेका छन् जसमध्ये पाँचवटा प्रदेश सरकार र १० वटा सस्पेन्सन ब्रिज डिभिजन (एसबीडी) कार्यालयबाट निर्माण भइरहेका छन् । निर्माणाधीन १५ वटा झोलुङ्गे पुलको निर्माण कार्य यसै आर्थिक वर्षभित्र र बाँकीको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने जाकारी योजना प्रमुख थापाले दिनुभयो । भउचप्रसाद यादवले गोरखापत्रमा खबर लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *