कांग्रेस कार्यसम्पादन समितिः बैठक बस्दै नबसी स्थगित

काठमाडौँ, २४ चैत । केन्द्रीय कार्यसम्पादन समिति गठनको एजेन्डा राखेर शनिवार बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ४० प्रतिशतको हिस्सा दिनेगरी समिति गठनको तयारी गरेका थिए ।

तर, केन्द्रीय कार्यसम्पादन समितिमा पर्ने सदस्यहरूको निर्णय लिन दुवै पक्षलाई हम्मे हम्मे परेपछि शनिवार बोलाइएको बैठक स्थगित गरिएको हो।

केन्द्रीय कार्यसमितिमा पदाधिकारी सहित २९ सदस्यीय हुनेछन्। ती मध्ये पदाधिकारी स्वतः सदस्य हुनेछन् भने सभापति देउवाले २२ जना सदस्य मनोनयन गर्न पाउनेछन्। यो समाचार आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन् ।

मनोनयन मध्ये ४० प्रतिशत सदस्य पौडेल पक्षलाई दिन सभापति देउवा तयार भएको केन्द्रीय सदस्य एनपी साउदले बताए। भागबण्डा मिलाउन सभापति देउवाले शीर्षस्थ नेताहरूको बैठक हिजो(शुक्रवार) आफ्नै निवासमा राखेका थिए।

दुई पक्षबीच भागबण्डा मिलेपनि पूर्व महामन्त्री सिटौलालाई कुन पक्षले लिने भन्नेमा भने सहमति जुटेको थिएन।

पौडेल पक्षले ४० प्रतिशतमा नपर्ने र संस्थापन पक्षले ४० प्रतिशत भित्रै पर्ने बताएका थिए। बैठकमा बोलाएर आफूलाई अपमान गरिएको भन्दै सिटौला देउवाले बोलाएको बैठकमा केही क्षण बसेर बाहिरिएका थिए। अनौपचारिक रूपमा सहमति जुटेपछि मात्रै अर्को बैठक राख्ने तयारी सभापति देउवाको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *