छ्यापछ्याप्ती छाडापन

बस खाली छ, गुडेको छैन । बाहिर चर्को होहल्ला छ । बसको सिटमा एउटी युवती आएर बस्छिन् । उनको ठ्याक्कै पछाडि आएर एक पुरुष बस्छन् । उनले ज्याकेट, चप्पल र खैरो ट्राउजर लगाएका छन् तर अनुहार देखिँदैन ।

केटीको अनुहार एकछेउबाट थोरै देखिए पनि चिनिँदैन । नीलो कुर्तामा बैजनी सल र सुरुवाल हेर्दा सरकारी कर्मचारीझैँ लाग्छ । त्यसपछि सुरु हुन्छ, केटाको अश्लील हर्कत । एक हातले भिडियो खिच्छन्, अर्कोले हस्तमैथुन गर्छन् । अन्तिममा थोरै माथि उठेर युवतीको कपालभरि वीर्य स्खलन गर्छन् । युवतीले थाहै पाउँदिनन् ।

हेर्दै आङ सिरिंग हुने यो भिडियो फेसबुक  म्यासेन्जर गु्रपमा भाइरल छ । ‘नेपाली बस काण्ड’  शीर्षकमा यो भिडियो एडल्ड साइट पोर्न हब डटकममा अपलोड गरिएको रहेछ, झन्डै तीन महिनाअगाडि । उनकै अरू दुई भिडियोमा पनि बसभित्रै वीर्य फालेको देखिन्छ ।

यतिबेलै अर्को अश्लील भिडियो चर्चित छ । बन्द तर उज्यालो कोठाभित्र एक अधबैँसे क्रीडारत छन् । छेवैमा बसेर अरू दुई अधबैँसेले अश्लील भाषामा उनलाई उकासिरहेका छन् । एक जनाले मोबाइलबाट भिडियो खिचिरहेका छन् । युवतीको आवाज आउँदैन । त्यहाँको माहोल हेर्दा युवती रक्सीको बेहोसीमा भएजस्तो लाग्छ, पुरुषको आवाज मातेजस्तै सुनिँदैन ।

मोबाइलको पहुँच सहज भएपछि नेपालीको अश्लील भिडियो सार्वजनिक हुन थाल्यो । सामाजिक सन्जालको आगमन र इन्टरनेटको सहज पहुँचपछि यस्ता छाडा सामग्रीको संख्या अझ बढ्यो । नाम चलेका सेलिब्रिटीकै भिडियो बाहिरिए । कति युवतीले आत्महत्या गरे, कोही गुमनाम भए । ती भिडियोमा एउटा समान विशेषता हुन्थ्यो, आफ्नो यौन गतिविधि जानी/नजानी आफैँले खिचिएको हुन्थ्यो र सामान्य प्रकृतिका ती भिडियो सार्वजनिक हुन्थे । तर पछिल्लो समय बाहिरिएका अश्लील भिडियोका प्रवृत्ति नियाल्दा कहाली लाग्छ ।

माथिका दुई भिडियो उदाहरण भइहाले । अझ ‘बस काण्ड’ त खिच्ने स्वयंले पोर्न हबमा अपलोड गरेको प्रहरीको दाबी छ, त्यसो हुँदैनथ्यो भने त्यति संवेदनशील क्षेत्रमा किन भिडियो खिच्थे ?

यी घटनालाई नियालिरहेकी समाजशास्त्री मीना उप्रेती भन्छिन्, “यस्ता अप्राकृतिक र हिंस्रक भिडियोबाट सामाजिक विसंगतिले सीमा नाघेको स्पष्ट हुन्छ । समाजको ठूलो समूह अराजक र विचलनको सिकार भएको छ ।” उप्रेतीको चिन्ता यत्तिमै सीमित हुँदैन । प्रश्न गर्छिन्, “यी त बाहिर आएकाले थाहा पायौँ, भित्र–भित्रै दबाइएका घटना कति होलान् ?”

‘बस काण्ड’ ले महिलामाथि राजधानीमै कुन हदसम्म यौन दुव्र्यवहार हुन्छ भन्ने डरलाग्दो अवस्था देखाउँछ भने अर्को भिडियोले सामूहिक बलात्कारको प्रतिनिधित्व गर्छ । उदण्डता र उच्छृंखलतालाई छर्लंग पार्ने अर्को उत्ताउलो भिडियो केही महिनाअगाडि भाइरल भएको थियो । ‘जापान काण्ड’ बाट चर्चित यस भिडियोमा एक जोडी बेडमा हुन्छन् । केटाले दुईतिरबाट खिचिरहेको मोबाइल देखाउँदै भन्छन्, ‘यो भिडियो युट्युबमा हालेर तिमीलाई पोर्नस्टार बनाइदिन्छु ।’ युवती बिनासंकोच भन्छिन्, ‘हुन्छ ।’

नभन्दै, उनीहरूको यौनक्रियाको झन्डै २० मिनेट लामो भिडियो पोर्न हब हुँदै मेसेन्जर ग्रुपमा छ्याप्छ्याप्ती भयो । यही भिडियोसँग सम्बन्धित आतेस लाग्ने अर्को ‘सेल्फी भिडियो’ बाहिरियो, जसमा अनुहार देखाएरै अर्धनग्न एक युवती ‘जापान काण्ड’ का जोडीको यौन कार्यमाथि आफ्नो टिप्पणी राख्छिन्, त्यो पनि असाध्यै छाडा भाषामा । हाउभाउ र बोली नियाल्दा भिडियो युवती स्वयंले अपलोड गरेकी हुन् । मनोविद् करुणा कुँवर भन्छिन्, “मानसिक विचलन भएकाले मात्र यस्ता हर्कत गर्छन् । सामान्य मनोदशा भएकाहरू यहाँसम्म पुग्दै–पुग्दैनन् ।”

एकातिर हामी समयसँगै समाज सभ्य हुन्छ/हुँदैछ भन्छौँ, अर्कातिर यस्ता घिनलाग्दा घटना बढ्दो छ । समस्या कहाँ छ ? मनोविज्ञ, समाजशास्त्रीदेखि प्रहरी अधिकारीसम्मको भनाइ एउटै हुन्छ, नैतिकता र महिलालाई सम्मान गर्ने संस्कार अभावको परिणाम हो यो ।

समाजशास्त्री उप्रेतीका अनुसार नयाँ र युवा पुस्तामा चरम विचलन छ, अराजक सोच छ, समाजबाट निराश छन्, कतिपयलाई समाजभन्दा ठूलो हुँ भन्ने घमन्ड छ । उनी भन्छिन्, “परिवार, स्कुल/कलेज र समाजबाट व्यावहारिक र नैतिक ज्ञान नपाएकाहरूले हिंस्रक र असामाजिक व्यवहार देखाउँछन् । कतिपय उक्साहट र प्रतिशोधको सिकार हुन्छन् ।” जस्तो, ‘बस काण्ड’ का पुरुष र सेक्स भिडियो खिचिरहेका अधबैँसेमा ‘मैले जे गरे पनि हुन्छ’ भन्ने अहं हाबी छ । ‘जापान काण्ड’ र त्यसमाथि टिप्पणी गर्ने युवतीमा चाहिँ चर्चा कमाउने लालसा देखिन्छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर भन्छन्, “स्वतन्त्रताको नाममा छाडापन बढ्दै गएको छ । हरेक सामाजिक संस्था मिलेर मात्र यस्ता विसंगति कम गराउन सकिन्छ । ठ्याम्मै रोकेर रोकिन्न ।”

सामाजिक सन्जालमा ‘बस काण्ड’ को आलोचना भएपछि प्रहरीले दोषी पक्रन प्रयास गर्‍यो । बस पत्ता लाग्यो, बा२ख९३२६ । तर पीडक पुरुष र पीडित महिला दुवैको पहिचान हुन सकेको छैन । प्राविधिक र कानुनी जटिलताका कारण पोर्न हबमा कसले अपलोड गर्‍यो भन्नेसमेत थाहा हुन नसकेको हो । “हामी मागेर पोर्न हब जानकारी दिन बाध्य हुँदैनौँ । अदालतको आदेश चाहिन्छ,” एसपी राठौर भन्छन्, “तैपनि पीडक खोज्न हदैसम्मको प्रयास गरिरहेका छौँ ।” कम्तीमा पीडित केटी सम्पर्कमा आए अनुसन्धान सहज हुने थियो । राठौर यसको सम्भावना असाध्यै कम देख्छन् । भन्छन्, “हामीले दिलाउन सक्ने कानुनी न्याय हो, सामाजिक न्याय होइन । तर बाहिर आउँदा समाजबाट वहिष्कृत हुने, इज्जत जाने, झमेलामा फस्ने भय हुन्छ । त्यसैले दुव्र्यवहारमा परेका महिला सहेरै बस्छन् ।”

यसो नहुँदो हो त, आफ्नो कपालभरि वीर्य देखेपछि पीडित युवती पक्कै प्रहरीकहाँ पुग्थिन् । यति होहल्ला भइसक्दा पनि उनी सम्पर्कमा आएकी छैनन् । कारण उही हो, आफ्नै चरित्रमा दाग लाग्ने र अनेक कानुनी प्रक्रियामा फस्ने डर । महिला अधिकारको क्षेत्रमा काम गर्नेहरू समाजसँगै प्रशासनिक संयन्त्र पीडितमैत्री नभएकाले युवतीहरू ‘रिक्स’ नलिने, बरु भित्र–भित्रै पिल्सिएर बस्ने आरोप लगाउँछन् । महिला हिंसाविरोधी अभियानमा सक्रिय अभिनेत्री ऋचा शर्मा भन्छिन्, “दुव्र्यवहारमा परेका युवतीलाई मैले सम्मानका साथ न्याय पाउन सक्छु भनेर सुरक्षित र आत्मविश्वासी बनाउनु नै अहिलेको सबैभन्दा ठूलो चुनौती हो ।”

यही विडम्बनाबीच अर्को एउटा तथ्य उल्लेख छ । गत असोजदेखि सरकारले झन्डै अढाई लाख पोर्न साइट प्रतिबन्ध लगायो, इन्टरनेट र अश्लील सामग्रीले यौनहिंसा र विकृति बढाएको भन्दै । तर पोर्न हेर्न बन्द हुनु त परको कुरा, नेपाली आफैँले खिचेको भिडियो अपलोड गर्दै छन् । यस्ता व्यक्ति पक्रने व्यवस्था मिलाउन सरकारको ध्यान छैन । अर्थात्, यौन दुव्र्यवहार, विचलनको वास्तविक समस्या नपहिल्याई पोर्न साइट बन्द गर्ने सजिलो बाटो रोज्यो सरकारले । मनोविज्ञ कुँवर भन्छिन्, “पोर्न साइट बन्द गरेर मात्र समस्या समाधान हुँदैन । समाजको तल्लो स्तरमा व्यापक सचेतना फैलाउनुपर्छ । इन्टरनेट र प्रविधिको समुचित प्रयोगबारे बुझाउनुपर्छ ।”

तत्कालका लागि न राज्य स्तरबाट विवेकसम्मत र प्रभावकारी अभियान सुरुआत भएको छ, न त अन्य सरोकारवाला निकायबाटै । सहर र शिक्षित महिला नै भोलि आफूमाथि आइपर्ने विपद्बाट तर्सेर मौन बस्छन् । मानसिक विचलनका कारण यौनजन्य विकृतिमा लिप्त भएकालाई पाठ सिकाउने कुनै संयन्त्र छैन । मुख्य चुनौतीचाहिँ महिलालाई आफूमाथिको हिंसाबारे प्रतिवाद गर्न सक्ने वातावरण निर्माण गर्नु नै हो । एसपी राठौर भन्छन्, “महिलाले जति सहन्छन्, समाज जति अनुदार हुन्छन्, उनीहरूमाथिको हिंसा र यौनजन्य उच्छृंखलता बढिरहन्छ । प्रहरीले मात्र रोक्न सक्दैन ।”

कान्तिपुर नेपाल साप्ताहिक माघ २०, २०७५मा गोकर्ण गौतमले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *