१२ वर्षमै बिहे !

हिक्मत बहादुर नेपाली, दुल्लु, १६ फागुन । सलल बगेको भेरी नदीको आवाजले एकछिन अडिन बाध्य बनाउँछ । नदी किनारको बालुवामा खेल्दै गरेका र सरसफाइमा व्यस्त भएका बालबालिकाको झुण्डले एकपटक त्यो दृश्य नहेरी फर्कनै सकिँदैन ।

झुण्ड झुण्डमा रहेका अरु बालबालिका कोही बालुवामा चित्र बनाउँदैछन्, कोही हात समातेर खेल्दैछन् । कोही सरसफाइमा व्यस्त । बालबालिका र तिनका अभिभावक नुहाइधुवाइका लागि पनि प्रायःजसो नदीमा पुग्छन् ।

नदीको परतिर सुन्दर देखिने स–साना टहराहरु । बस्तीको माथिल्लो भागमा घना जङ्गल । यही हो फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको बासस्थान । त्यही हो चर्को घाम र पानी छल्ने टहरा ।

राउटे वस्ती वीचैमा केही दिन अघि मात्रै सजाइएको बिहेको मण्डप देखिन्छ । त्यहाँ राखिएका सामग्रीहरु तितरबितर भइसकेका थिए । खाली चार खम्बा मात्रै बचेको । खम्बाको बीचैमा गाडिएका पाँच वटा अग्ला अग्ला टागोले त्यहाँ पुग्ने सबैलाई अचम्मित तुल्यायो । अझ लठ्ठीको टुप्पोमा टङ्गाइएका धजाले खुल्दुली जगाउँछ ।

यो देख्ने बित्तिकै राउटे मुखिया सूर्यनाराण शाहीलाई सोधिहाल्यौ – यो के हो रु उनले भने – “केही दिन अगाडि गरिएको बिहेको मण्डप हो । हाम्रो समुदायमा जति वटा विवाह भयो, त्यति नै मण्डपको बीचैमा टागो गाडेर धजा बाँध्छौं ।”

उनका अनुसार समुदायमा एक साता अघिदेखि लगातार पाँच वटा विवाह भएका रहेछन् ।

त्यसपछि विवाह गर्नेको जोडीको खोजीमा लाग्यौं । सबैको नाम र उमेर सोध्यौं । भर्खरै बिहे गरेका ती जोडीले मन नलाइनलाई भए पनि हामीले सोधेका प्रश्नको जवाफ दिए । लजाइलजाइ जवाफ दिने मध्येकी एक थिइन्, मयाराम शाही । उनी उमेरले १२ पुगिन् ।

आफ्नै स्याहार आफंै गर्न नसक्ने अवस्थामा भएको उनको गत साता बिहे भएको रहेछ, आफूभन्दा २० वर्ष पाको दल बहादुर शाहीसँग । दलबहादुरको मयारामसँग भएको यो दोस्रो बिहे हो । पहिलेकी पत्नीको मृत्युपछि उनले मयारामसित बिहे गरेका हुन् । दलबहादुरका दुई सन्तान छन् । मयारामलाई आफ्नो बिहे दलबहादुरसँग भएको पत्तो समेत छैन ।

“उसले अझै पनि म उसको श्रीमान् हो भन्ने थाहा पाउँदिन,” दलबहादुरले भने – “सानै छे, उमेर बढेसँगै विस्तारै सबै कुरा बुझ्छे भन्ने विश्वासमा छु ।” उनले आफ्नो समुदायमा उमेर मिल्ने महिला नभएपछि कम उमेरकै केटीसँग बिहे गर्न बाध्य भएको सुनाए ।

उनी जस्तै सोही वस्तीकै १३ वर्षीया सुरमान शाही ३१ वर्षीय शिवराज शाहीसँग विवाह बन्धनमा बाँधिएकी रहिछन् ।

पछिल्लो एक सातामा १४ वर्षीया बाँगे शाहीले २२ वर्षीया हीरासिंह शाहीसँग विवाह गरिन् । त्यस्तै खेमराज शाही र सुविधा शाही तथा सुरेन्द्र शाही र मसुरी शाहीको पनि यही महीना विवाह भएको हो ।

एक साता अवधिमा राउटे वस्तीका पाँच बालिकासँग विवाह गरेका अधिकाँश पुरुषको धेरै नै बढी छ । राउटे वस्तीमा यी सबै विवाह राति गरिएका हुन् । विवाह गरेका सबै १३ देखि १५ वर्षसम्मका किशोरी छन् । राउटेहरू रास्कोटी, कल्याल र स्ववंशी गरी तीन प्रकारका रहेको मुखिया सूर्यनारायणले जानकारी दिए ।

उनका अनुसार आफ्नै उमेर समूहका महिला नभएका कारण अधिकाँश युवा अविवाहित छन् ।

विवाहपछि केटा र केटीलाई छुट्टै राख्ने चलन छ । “विवाहपछि छुट्टै छाप्रो बनाएर उनीहरूलाई बसाउने गरिन्छ,” उनले भने ।दक्षिण एशियाकै लोपोन्मुख मानिएको राउटे आफूलाई जङ्गलको राजा मान्ने गर्दछन् । यो समुदायमा सानै उमेरमा विवाह गर्ने महिलाको सङ्ख्या बढी छ ।

सुर्खेतको लेकबेसी नगरपालिका वडा नं १ भेरी नदी किनारमा बसोबास गरिरहेका राउटे समुदायमा गत एक साताको अवधिमा भएका विवाहले त्यो पुष्टि गर्छ । जनसङ्ख्या व्यवस्थापनमा खासै चासो नराख्ने राउटे समुदायमा महिलाहरूले उमेर नपुग्दै विवाह गर्नुपर्ने बाध्यता परम्पराजस्तै बनिसकेको छ । “

केटाहरू धेरै हुन्छन्,” मुखिया सूर्यनारायणले भने – “बिहे गर्न वर्षौ कुर्नुपर्छ तर पनि, कत्ति केटाको त निकै मुश्किलले मात्रै पालो आउँछ ।” केटी नपाउँदा धेरैजसो पुरुषको त ४० वर्ष कटेपछि मात्रै बिहे हुने गरेको उनी बताउँछन् । पुरुषले लामो समय कुर्नुपर्ने तर, महिलाले भने १२ वर्ष पुग्नेबित्तिकै विवाह गर्नुेपर्ने बाध्यता परम्परा जस्तै बनेको छ यो वस्तीमा ।

छोरी जन्मनासाथ कसैको श्रीमती तोक्ने गरिएको छ राउटे समुदायमा । “छोरी जन्मिनेबित्तिकै कसैको श्रीमती बन्छे,” समुदायकी एक महिलाले भनिन् – “कोसँग बिहे गर्ने भन्ने कुरा जन्मिएकै दिन टुङ्गो लगाइन्छ, उमेरको कुनै वास्ता हुन्न ।” सानै उमेरमा बिहे गर्ने र छिट्टै आमा बन्नुपर्ने बाध्यताकै कारण कत्तिका सन्तान खेर गएका छन् भने कत्तिले अकालमा ज्यान गुमाएका छन् ।

सानै उमेरमा विवाह गरेकै कारण ३० वर्षीया प्रकाश शाही र १७ वर्षीया महिन शाहीबाट जन्मिएका जुम्ल्याहा छोरीहरुको ज्यान गयो ।

दैलेखको गुराँस गाउँपालिका–८ अन्तर्गत गर्चामास्थित पातलेखोला किनारमा बसोबास गर्दा जन्मिएका ती दुई बालिका सोही ठाउँको माथिल्लो भाग पानीपोखरा आएलगत्तै जुम्ल्याहा दुबै छोरीको मृत्यु भएको थियो । यो तत्कालै भएको घटना मात्रै हो तर, राउटे समुदायमा त्यसरी ज्यान गुमाउनेको विवरण राखिएको छैन ।

कोही अझै अविवाहित

समुदायमा कोहीको १२ वर्षमै विवाह भएको छ भने कोही अझै अविवाहित छन् । झण्डै २५ वर्षकी गाजली शाहीले भने आफ्नै उमेरका केटा नपाएर विवाह गरेकी छैनन् । उनको थर कल्याल शाही भएकाले रास्कोटी र स्ववंशीसँग उनको विवाह चल्दैन । आफूले विवाह गर्न मिल्ने केटा सानै भएकाले विवाह नभएको उनी बताउँछिन् ।

“आफ्ना उमेरका कोही छैनन्, आफ्नो समुदाय बाहेक अन्यसँग बिहे गर्न पाइँदैन,’ उनले भनिन् – “त्यसैले अहिलेसम्म मेरो बिहे भएको छैन ।” कल्याल जातिमा किशोर र किशोरीसँग विवाह गर्ने उमेरका केटा र केटी नहुँदा अविवाहित बस्नुपर्ने बाध्यता छ । राउटेमा आफूभन्दा अघिल्लोको बिहे नगरी कम उमेरकाले बिहे गर्ने चलन छैन ।

उनका अनुसार कतिपय बालिकाले आमाबुवाको करकापमा विवाह गरेका हुन् । करीब ६ महिनादेखि राउटे समुदायमा बसेर काम गर्दैआएकी दुर्गा खत्रीले सानो उमेरमा विवाह गर्दा राउटे समुदायमा मातृ तथा शिशु मृत्युको जोखिम बढी रहेको बताइन । “अधिकांश महिलालाई पाठेघरको समस्या छ,” उनले भनिन् – “बालबालिका कुपोषणको समस्याले पीडित छन् ।”

बालबालिकाको अक्षरसँगका साइनो

लेखपढ नगर्ने, जागीर नखाने र खेतीपाती नगर्ने राउटे पछिल्लो समय परिवर्तन हुने थालेका छन् । उनीहरुले आधुुनिक जीवनशैली अङ्गाल्न थालेका हुन् । अक्षर चिन्नु पनि मान्यता विपरीत रहेको यो समुदायका बालबालिकाहरु पछिल्लो समय कखरा सिक्न थालेका छन् ।

वस्ती नजीकै बसेर सिकेको थाहा पाए मुखियाले गाली गर्ने भएकै कारण बालबालिकाहरु वस्तीभन्दा केही टाढा गएर लेखपढ गर्ने गरेका छन् । दैलेखको सोसेक नेपालमार्फत सञ्चालन भएको राउटे परियोजनाले जोडी शिक्षक र अहेवको व्यवस्था गरेको छ । उनीहरु समुदायमै खटिएका छन् ।

राउटे समुदायमा खटिनुभएकी शिक्षिका खत्रीका अनुसार राउटे बालबालिकाहरु पढाइ र लेखाइमा इच्छुक भए पनि समुदायका अगुवाले अवरोध गर्ने गरेका छन् ।समुदायका अन्य सदस्यहरु पनि आधुनिकतामा रमाउन थालेका छन् । बिरामी हुँदा होस् या चोटपटक लाग्दा जडीबुटी प्रयोग गर्ने उनीहरु अहिले औषधि उपचार गर्न थालेको अहेव विनोद कुमारी बिसीले बताइन ।

राउटेहरु औषधि उपचारमा विश्वास गर्न थालेको बताउँदै अहेव बिसीले भने – “हिजोआज सामान्य चोटपटक लाग्दा पनि हामीसँग औषधि उपचार गराउन आउँछन् ।” त्यतिमात्र नभई एकसरो गादो मात्र लगाउने राउटे समुदायमा पुरुष टोपी, जुत्ता, चप्पल, कमिज, टिसर्ट र महिलाहरू गुन्यूचोलो, पटुकी र गलामा पोते लगाउन थालेका छन् । यस समुदायमा अहिले १४५ जनाको सङ्ख्या रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *