स्वास्थ्यको संस्कारसँग साइनो

इन्दिरा अधिकारी (पौडेल), काठमाडौँ, २९ पाैष । पोषणयुक्त खानेकुराको अभाव र केही गलत परम्पराका कारण नेपाली महिला जटिल स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन् । महिला र पुरुषको शारीरिक संरचना बनावटलाई नबुझ्दा पनि थुप्रै समस्या देखिएका छन् । बुझ्नुपर्ने कुरा के हो भने जब महिलाको स्वास्थ्यमा समस्या आउँछ, त्यो सिंगो परिवारसँग जोडिन्छ । त्यसको प्रभाव बच्चामा समेत पर्छ ।

शिक्षाका कारण कुलीन परिवारका महिलामा तुलनात्मक रूपमा राम्रो स्वास्थ्य देखिन्छ तर अधिकांश परिवार खासगरी दलित, विपन्न समुदायका महिलाको समस्या कहालीलाग्दो छ । केही गम्भीर प्रकृतिका ठूला रोगलाई छाड्दा अधिकांश नेपाली महिला प्रसूतिसँग सम्बन्धित समस्याबाटै जेलिएका हुन्छन् ।

जब रजस्वलाको चक्र सुरु हुन्छ र पाठेघर सक्रिय हुन थाल्छ, महिलाको स्वास्थ्य समस्या प्रारम्भ हुन्छ । पूर्ण सरसफाइको अभाव, रजस्वलालाई हेर्ने गलत परम्परा, गर्भवती अवस्थामा स्याहारसम्भारमा कमी, प्रसूति सेवा समस्या, पोषणयुक्त खाद्यान्न अभाव र पारिवारिक, सामाजिक, मानसिक हिंसाको प्रभाव, लैंगिक विभेद (छोरी जन्मिन्छे कि भन्ने शङ्का) जस्ता कारणले महिलाको स्वास्थ्यमा असर पारेको हुन्छ । यसले ज्यानसमेत लिन सक्छ ।

महिलामा रक्तअल्पता पनि मृत्युको मुख्य कारणका रूपमा

विश्वमै हेर्ने हो भने यसको अवस्था अति विकराल छ । नेपालको जनासांख्यिक स्वास्थ्य सर्वेक्षण (२०१६) अनुसार करिब ४१ प्रतिशत महिला यस समस्याबाट ग्रसित छन् । सबैभन्दा बढी मधेसी समुदायका महिलामा रक्तअल्पता देखिएको छ । रक्तअल्पता भएका महिलाको सुत्केरी अवस्था पनि निकै जोखिमपूर्ण रहेको पाइएको छ । रक्तअल्पताको समस्याबाट ग्रसित महिलाबाट जन्मिएको बच्चामा पनि विभिन्न किसिमका समस्या देखिएका छन् ।

हालै स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनमा करिब १८.२ प्रतिशत महिलामा कुपोषणको समस्या देखिएको छ । दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा बालबालिका र महिलाको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्य राखेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा मातृ मृत्युदर प्रतिलाख २ सय ५८ छ । यसलाई सन् २०३० मा ७० मा झार्ने लक्ष्य छ । विभिन्न अध्ययनले महिला र बच्चाको मृत्युदरमा कमी आएको देखाएका छन् । यो अति राम्रो पाटो हो । तर सुधारमा सोचेजस्तो प्रभावकारिता ल्याउन सकिएको छैन । यसमा व्यक्ति, समुदाय र राज्य व्यवस्था इत्यादिको महत्त्वपूर्ण भूमिका चाहिएको छ ।

महिलामा आङ खस्ने समस्या टड्कारो छ । यो समस्याबाट धेरै नेपाली महिला प्रभावित छन् । आङ खस्ने समस्याको मूल कारणमा नेपाली समाजको चालचलन र कुसंस्कार हाबी भएको देखिन्छ । जस्तो– छिटो विवाह गरी छिटो बच्चा जन्माउनु, जन्मान्तर कम हुनु, धेरै बच्चा जन्माउनु, प्रसूति अवस्थामा पोषण र आरामको कमी हुनु, सुत्केरी अवस्थामै बलको काममा संलग्न हुनु इत्यादि ।

महिलाको मात्र समस्याजस्तो देखिए पनि यसले पारिवारिक विघटन निम्त्याएको छ

राज्यले नागरिकमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने प्रतिबद्धता जाहेर गरे पनि प्रभावकारी देखिएको छैन । स्वास्थ्य सेवाको पहुँचलाई अधिकांश महिलाकबीचमा पुर्‍याउँदै अन्धविश्वास, कुसंस्कार हटाउन जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने देखिन्छ ।

विशेषगरी जिम्मेवार राजनीतिक पार्टीहरूलेआफ्ना कार्यकर्ता र भ्रातृ संगठनहरूमार्फत ‘एउटा महिला स्वस्थ भए परिवार स्वस्थ हुन्छ र परिवार स्वस्थ भए देश स्वस्थ हुन्छ’ भन्ने मान्यतासाथ स्वास्थ्य अभियान सञ्चालन गर्नुपछ । राज्यले शैक्षिक पाठ्यसामग्रीमा प्राथमिक तहबाटै महिला स्वास्थ्य जानकारी, स्वास्थ्य समस्या समाधानबारे सामग्री समावेश गनुपर्छ ।

राज्यले भौगोलिक विकटता भएका स्थानमा पनि सहज, सुलभ स्वास्थ्य सेवाको प्रबन्ध मिलाउन सक्नुपर्छ । महिलाको स्वास्थ्य समस्या शरीर र स्वयम् सम्बन्धित महिलासँग मात्र जोडिएको छैन । यो सिंगो समाजको संरचना, संस्कार, चालचलन, राज्यव्यवस्थासँग प्रत्यक्ष जोडिएको छ । त्यसैले सतही विश्लेषणबाट मात्र यसको समाधान खोज्नु गल्ती हुनेछ ।

लेखक मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेजकी उपप्राध्यापक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *