लोकसेवा अनुभव : एकैपटक तीन सेवामा नाम निकालेँ

तिलबहादुर सुनार,शाखा अधिकृत, परराष्ट्र मन्त्रालय काठमाडाैं, २९ पाैष । स्याङ्जास्थित भिरकोट न.पा. वडा नं ३ मा रहेको सहिद शुक्र माध्यामिक विद्यालयबाट विद्यालय स्तरको अध्ययन पूरा गरेँ । स्कुलमा औसत विद्यार्थी हुँ । अध्ययनकै सिलसिलामा म पत्रकारिता पेसामा पनि जोडिएको थिएँ । तर, लोकसेवाप्रति रुचि लाग्यो र २०७० मा लोकसेवाबाट पहिलो प्रयासमै कम्प्युटर अपरेटरमा नाम निस्कियो । अंग्रेजी भाषामा मेरो राम्रो ज्ञान थियो ।

त्यहीकारण मैले परराष्ट्र सेवाअन्तर्गत अधिकृतको तयारी गरेँ । तर, २०७२ र २०७३ दुवै वर्ष म पहिलो पेपरमै असफल भएँ । खासमा आइक्युमा मेरो तयारी पुगेको थिएन । म बजारमा निस्किएका किताब पढ्थेँ ।

तर, त्यो पूर्ण नहुँदो रहेछ । २०७४ मा फेरि अधिकृतका लागि तयारी गरेँ । योपटकचाहिँ मैले आइक्यु अध्ययनका लागि इन्टरनेटको सहारा लिएँ । र, तेस्रो प्रयासमा अधिकृतमा नाम निकाल्न सफल पनि भएँ ।

पहिलो पत्र

पहिलो पत्रका लागि नियमित अभ्यास, विषयवस्तुको राम्रो ज्ञान र शीघ्र निर्णय क्षमता आवश्यक पर्छ । मैले आइक्यु, अंग्रेजी र सामान्य ज्ञान तीनवटै विधामा पूर्णांक र आफ्नो दक्षताबमोजिम समय छुट्याएँ र नियमित रूपमा अभ्यास गर्दै गएँ । सामान्य ज्ञानका लागि सम्झन सक्ने तवरले सूत्रबद्ध गरेँ ।

नियमित पत्रपत्रिका पढी समसामयिक विषयलाई एउटा छुट्टै कपीमा टिपोट गरेँ । अंग्रेजीका लागि इन्टरनेटबाट व्याकरणका अपवादका नियमहरू अभ्यास गरेँ । आइक्युको लागि वेबसाइट र युट्युबको सहाराले अभ्यास गरेँ ।

ट्युसन सेन्टरमा वेलावेलामा परीक्षा दिन गएँ । त्यसले गर्दा समय व्यवस्था गर्न सहज भयो । पढाइको लय मिल्ने केही साथीहरू मिलेर समूहमा पढियो भने त्यो झनै दिगो र प्रभावकारी बन्ने मेरो अनुभव छ ।

द्वितीय र तृतीयपत्र

लेखन अभ्यास राम्रो भएन भने ‘हेर्दा सबै जानेजस्तो, लेख्न थाल्यो केही पनि नजानेजस्तो’ हुने रहेछ । तोकिएको समयभित्र अरूको चित्त बुझ्ने गरी लेख्नु झनै चुनौतीपूर्ण कुरा हो ।

विषयगत तयारीका लागि म बजारमा पाइने पुस्तकमा मात्रै भर परिनँ । स्पष्ट बुझाइ नहुँदासम्म विषयवस्तुलाई बहुआयामिक दृष्टिकोणले विद्यमान अवस्थासँग दाँजेर केलाउने गर्थें ।

उदाहरणका लागि सरकारको परिभाषा खोज्नुप¥यो भने मैले हाम्रो सरकारलाई सम्झन्थेँ र त्यसका विभिन्न पक्षहरूलाई केलाउँथेँ । यसो गर्दा पुस्तकमा लेखेको भन्दा धेरै नै बढी ज्ञान हुँदो रहेछ । सँगसँगै एउटा विषयलाई अर्को विषयसँग जोडेर लेख्न सक्ने क्षमताको पनि विकास भयो ।

कुनै पनि विषय पढिसकेपछि मैले त्यसको व्यावहारिक अभ्यास कस्तो छ, सिद्धान्त र व्यवहारमा मेल खान्छ कि खाँदैन, त्यसको अकाट्य परिभाषा के हुन सक्छ भनेर धेरैबेर मनमनै मन्थन गर्थें । एक घन्टा पढेँ भने त्यसमाथि आधा घन्टा चिन्तन र लेखन अभ्यास गर्थें ।

लेखन अभ्यास राम्रो भएन भने ‘हेर्दा सबै जानेजस्तो, लेख्न थाल्यो केही पनि नजानेजस्तो’ हुने रहेछ । तोकिएको समयभित्र अरूको चित्त बुझ्ने गरी लेख्नु झनै चुनौतीपूर्ण कुरा हो ।

परराष्ट्रका थप दुई पत्र

परराष्ट्रको द्वितीय पत्रका लागि माथि भनिएजस्तै गरी अभ्यास गरेको थिएँ, भाषा मात्रै फरक हो । पहिलो पत्र ‘अंग्रेजी भाषा’को लागि मैले धेरै मिहिनेत त गरेको थिइनँ, तर कुनै कुरा मनमा आउनेबित्तिकै यसलाई नेपाली र अंग्रेजी दुवै भाषामा कसरी भन्न-लेख्न सकिन्छ भनेर चिन्तन गर्थें ।

पत्रपत्रिकामा एउटै समाचारलाई अंग्रेजी र नेपाली भाषामा कसरी लेख्दा रहेछन् भनेर हेर्ने र अनुवाद गर्ने गर्थें । निबन्ध लेखनका लागि विषयवस्तुको बहुआयामिक विश्लेषण गर्ने बानीले सहज भयो ।

सूचना प्रविधि सीप परीक्षण र अन्तर्वार्ता

मैले पहिलेदेखि नै टाइपिङमा नियमित अभ्यास गर्ने गरेको थिएँ । त्यसैले टाइपिङमा पूरै अंक प्राप्त गरेँ । प्रयोगात्मक परीक्षामा पूर्णांकको नजिक–नजिक नम्बर ल्याउन सफल भएँ ।

लिखितमा मेरो न्याय, परराष्ट्र र प्रशासन तीनै सेवामा नाम निस्केको थियो । न्याय सुनिश्चित थियो, तर न्यायमा अन्तर्वार्ता दिनेबित्तिकै परराष्ट्र र प्रशासनमा आउने बाटो नै रोकिन्थ्यो । त्यसैले धेरैजसो समय कुन सेवा छनोट गर्ने भन्नेमै बित्यो ।

अन्तर्वार्ताका लागि समय खर्चिन नभ्याए पनि पहिलेको तयारीले होला, खासै अप्ठ्यारो परेन । न्यायको अन्तर्वार्तामै सहभागी भइनँ । परराष्ट्र र प्रशासनको अन्तर्वार्ता दिएँ । नतिजा आउँदा परराष्ट्रमा नाम निस्कियो, साह्रै खुसी लाग्यो ।

परीक्षाअघिको अभ्यासमा जति गल्ती भयो, त्यति नै सुध्रिने मौका मिल्दो रहेछ । परीक्षामा गरेको एउटा गल्तीले अर्कैलाई विजयी बनाउँदो रहेछ । त्यसैले लोकसेवा तयारी गर्नेहरूले यो कुरालाई मनन गर्नु जरुरी छ । नयाँपत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *