इंग्लिस प्रिमियर लिग फुटबलमा पेड्रो र विलियनको गोलमा चेल्सीको जित

काठमाडाैं, २९ पाैष । उपाधि होडमा केही पछि देखिए पनि शीर्ष चारमा आफूलाई कायम राखिरहन प्रयासरत चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत महत्वपूर्ण जित दर्ता गरेको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले न्युक्यासललाई २–१ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन पेड्रो र विलियनले गोल गरे । न्युक्यासलका लागि क्लार्कले एक गोल फर्काएका हुन् । नवौँ मिनेटमा पेड्रोको गोलबाट चेल्सीले अग्रता लियो । ४० औँ मिनेटमा क्लार्कले न्युक्यासलका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफमा चेल्सीले थप एक गोल गरेको हो । उसका लागि विलियनले ५७ औँ मिनेटमा गोल गरे । यहि गोलका कारण चेल्सी विजयी भयो । जितपछि चौथो स्थानको चेल्सीको २२ खेलबाट ४७ अंक भएको छ । एक खेल कम खेलेको तेस्रो स्थानको टोटनह्यामको ४८ अंक छ । १८ अंक रहेको न्युक्यासल भने रेलिगेशन जोनमा झरेको छ ।

लिग अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा बर्नलीले फुलह्याम, वाट्फोर्डले क्रिष्टल प्यालेस तथा साउथह्याम्पटनले लेस्टर सिटीलाई समान २–१ ले हरायो । कार्डिफ र हडर्ल्सफिल्ड टाउनले गोलरहित बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *