अस्ट्रेलिया सडक दुर्घटनामा एक नेपालीको मृत्यु

सिड्नी, पुस २७ । अस्ट्रेलियामा सडक दुर्घटनामा एक जना नेपालीको मृत्यु भएको छ।

चितवन घर भइ अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यस्थित ओलङगङमा विगत ५ वर्षदेखि बसोबास गर्दै आएका सुजन दाहालको बिहीबार सडक दुर्घटनामा निधन भएको हो।

चार वर्षदेखि स्थानीय डोमिनोज पिज्जा सेन्टरमा काम गरिरहेका उनले पछिल्लो एक वर्षदेखि एज्ड केयरको काम सुरु गरेका थिए। एज्ड केयरमा काम गरेका उनी डब्बोको टारीमा रहेको घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्।

तीव्र गतिमा रहेको उनको गाडी प्रिन्सेस हाइवेमा रोकेर राखेको लामो मालवाहक ट्रकसँग ठोक्किन पुगेको थियो जसका कारण उनको घटनास्थलमै निधन भएको जनाइएको छ। प्रहरीका अनुसार ट्रकका चालक घाइते भएका छन्।

न्यूसाउथवेल्स प्रहरीले उक्त घटना हिजो बिहीबार अपरान्ह ५:३० बजे भएको जनाएको छ।

मृतक दाहालको शव अहिले ओलङ्गङ अस्पतालमा राखिएको छ भने उनका आमाबाबु पनि अस्ट्रेलियामैँ रहेकाले उनीहरूको सल्लाहअनुसार आवश्यक सहयोग पुर्‍याउने काम भइरहेको एनआरएनए अस्ट्रेलियाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *