पृथ्वीनारायणकाे पाठ

काठमाडाैं, २७ पाैष । पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन्/होइनन् ? केहीले यो प्रश्न उठाइरहेका छन्। त्यसको जबाफ निम्ति नेपाल राष्ट्रलाई हेरे पुग्छ। निःसन्देह उनी नेपाल राष्ट्रका निर्माता हुन्। बरु यसमा थप्न सकिन्छ– नेपाल राष्ट्रको निर्माणमा उनले अगुवाइ गरेका हुन्। त्यसमा साथ दिनेमा अरू नेपाली पनि छन्।

यति हो नेपाल राष्ट्र निर्माणका क्रममा अरूले गरेको योगदान छायामा पर्‍यो-पारियो। अरूले गरेको योगदान छायामा पर्‍यो भन्दैमा नेपाल राष्ट्रनिर्माता पृथ्वी होइनन् भन्न कहाँ पाइन्छ ? हो, उनीपछिका शाह राजाहरूले अपेक्षित रूपमा राष्ट्रनिर्माताको पदचिह्न पछ्याउन सकेनन्। त्यसै आधारमा उनले गरेको योगदानप्रति कृतघ्न बन्न सकिँदैन।

विशेष गरी पञ्चायतका ३० वर्षमा शाह राजाहरूको गुणगान धेरै भयो। इतिहासको पनि आफ्नै हिसाबले व्याख्या भयो। नेपाल एकीकरणमा योगदान गर्ने बिसे नगर्चीहरू बिर्सिइए। जनआन्दोलन २०६२/०६३ ताका कवि श्रवण मुकारुङको सशक्त कविता ‘बिसे नगर्चीको बयान’ ले इतिहासको त्यो कमजोरीलाई अवश्यै उजागर गर्‍यो। एकीकरण प्रक्रियामा धेरै नेपालीले योगदान गरेका थिए। पृथ्वीनारायणको त्यो अभियान सफल पार्न योगदान गर्ने सबै पात्रहरूको पहिचान गर्दै इतिहास लेखिएको भए, तिनलाई सम्झेर पृथ्वीसँगै अभिनन्दन गर्न पाएको भए अहिले फरक पर्थ्याे यो।

अरू योगदान गर्नेलाई पनि सम्झौं। तर, पृथ्वीलाई बिर्सेर अरूको योगदानको मात्रै चर्चा पनि हुन सक्दैन। त्यो महान् अभियानलाई एकीकरण वा गोर्खा राज्यको बिस्तार मात्रै भन्ने विषयमा चर्चा–परिचर्चा गर्न सकिन्छ। यस्ता छलफल लोकतान्त्रिक नेपालको प्राज्ञिक वर्गले गरे हुन्छ। अनुसन्धानात्मक कृति प्रकाशन गरे पनि हुन्छ। तैपनि हाम्रो मुलुक आजको अवस्थामा आउनु पछाडि पृथ्वीको योगदानलाई कम आँक्न सकिँदैन। राज्य विस्तारका बेला संसारभरि सामन्ती व्यवस्था नै थिए।

युद्धद्वारा बलात् राज्यहरू बनाइएकै थिए। नेपाल राष्ट्रलाई अहिलेको स्वरूपमा ल्याउने अभियानको थालनी उनैद्वारा भएको हो। अन्यथा हामी नेपालकै रूपमा रहन्थ्यौं वा रहन्नथ्यौं ? अर्कै इतिहास बन्थ्यो कि ? आज पृथ्वीको २९७ औं जन्मजयन्तीका बेला कम्तीमा तिनले आफ्नो युवावस्था सम्पूर्ण रूपमा नेपाल एकीकरणमा लगाएको गुन हामी बिर्सन सक्दैनौं।

आजको जस्तो धेरै अध्ययन र अनुभव नभएको युगमा पनि नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ को उपमा दिन त्यो विलक्षण प्रतिभाप्रति नतमस्तक हुन किन गाह्रो ? आजका एकसेएक घागडान कूटनीतिक व्यक्तिहरूले समेत त्यो उपमाको विकल्प दिन सकेका छैनन्। त्यसो त लहडबजीमा हामी ‘दुई ढुंगाबीचको डाइनामाइट’ बन्छौं भन्न सकिएला। वर्तमान नेपालले सामना गरिरहेको भूराजनीतिक परिदृश्यका समस्या र अवसर दुवैका निम्ति यो गुरुमन्त्र हो।

पृथ्वीलाई सम्झँदा क्रान्तिकारी नभइने भ्रमबाट सरकार मुक्त हुनुपर्छ । यो अतीत मोह होइन भाबी पुस्तालाई नेपाल राष्ट्र निर्माणको पाठ हो । निर्मातालाई बिर्सेपछि मुलुक बिर्सन कति दिन                लाग्छ र ?

विश्व अर्थतन्त्रमा पहिलो बन्न गइरहेको चीन र अर्को ठूलो अर्थतन्त्र भारतबीचमा रहेको नेपालले आफूलाई कसरी चुनौतीमा उम्दा ठहर्‍याउँदै अघि बढाउला ? जाने समृद्धिका केही बाछिटाले मात्रै पनि नेपालमा कायाकल्प हुन सक्छ। नजान्दा त्यसले पार्नसक्ने क्षति अकल्पनीय छ।

कुनै पनि मुलुकले आफूलाई अघि बढाउँदा आफ्ना इतिहास, परम्परा र अग्रजप्रति बेइमानी गर्नु हुँदैन। जसले त्यसो गरेका छन् ती नासिएर गएका छन्। हामीकहाँ पनि यदाकदा मुलुकको इतिहास आफैंबाट सुरु भएजस्तो व्यवहार गरिन्छ। अझ यहाँका परम्परा, संस्कार, संस्कृति, कानुन सबैलाई तोड्दै सबै कुरा २०६२-०६३ बाट सुरु भएको जस्तो गराइँदैछ। त्यही २०४६ सालका उपलब्धिलाई समेत बेवास्ता गरिन्छ भने त्यसअघिका केही असल परम्परा भए तिनलाई किन निरन्तरता नदिने ? आखिर राष्ट्र एक दिनमा बन्दैन।

सांस्कृतिक क्रान्तिका नाममा वितण्डा गरेको चिनियाँ कम्युनिस्ट पार्टीले पछि त्यसलाई गल्ती ठान्यो। जतासुकै अध्यक्ष माओलाई अघि बढाउने चीन अहिले कन्फ्युसियसमार्फत आफ्नो ‘सफ्ट पावर’ बढाउँदैछ। हामीकहाँ भने पुरानाजति सबै मास्ने प्रक्रिया सुरु भएको छ। पृथ्वीको ‘दिव्योपदेश’ मात्रै पनि हाम्रा अहिलेका धेरै समस्या समाधानको बाटो हुन सक्छ। आज मुलुक निर्यातभन्दा आयातमा बढ्ता निर्भर छ। व्यापार घाटाको दायरा निकै फराकिलो भइरहेको छ। यस्तो बेलामा स्वदेशी वस्तुको उत्पादन र यही रकम राख्न पृथ्वीले दिएको उपदेशका केही पंक्तिमात्रै सम्झना गरेको भए पनि धेरै फरक पर्ने थियो।

यो मुलुकलाई सबै जातको फूलबारीका रूपमा चिन्तन गर्नु के गल्ती थियो ?

यो अहिले हामीले भन्दै आएको समावेशी राजनीति वा सहकार्यका निम्ति उत्तिकै लागू हुने पक्ष हो। लोकतान्त्रिक शासन व्यवस्था नभएका बेला पृथ्वीपछिका पुस्ताका राजाहरूले पर्याप्त भूमिका खेल्न नसकेका कारणको दोष उनीमाथि थोपर्नु न्यायसंगत हुँदैन।

उनीपछिका राजाहरूले यो मुलुक आफ्ना पुर्खाले आर्जन गरेको भनी दम्भ पनि गरे होलान्। त्यो दम्भ गर्न पाइन्छ। तर, हामी मान्दैनौं यो मुलुक शाह राजाका पुर्खाले मात्र आर्जन गरे। यो मुलुक हामी सबैले आर्जन गरेको हो। त्यसैले कसैले पुर्खाले आर्जन गरेको भने भन्दैमा ती महान् पुर्खाप्रति अन्याय गर्न सकिँदैन।

यो मुलुकले अनेकन् जातजाति, धर्म–सम्प्रदायप्रति सहअस्तित्वलाई जोड दिँदै आएको छ। हिजोका दिनमा कतिपय गर्नै पर्ने व्यवहार नजानेर पनि भएका थिए। त्यसबाट सिक्दै अघि बढ्न सबै तत्पर भइरहेका छन्। शासन व्यवस्थादेखि व्यक्तिसम्मले आफूलाई रूपान्तरण गर्दैछन्। यसका निम्ति हिजोका असल पक्ष, असल व्यक्ति र असल व्यवस्थाको पनि निरन्तरता हुनुपर्छ। आज सबैले आफ्नो उपस्थिति जनाउन बिदा पाउँदै आएका छन्। तर, शाह राजा भएकै आधारमा पृथ्वीलाई सम्झने दिनलाई आज मेटाउने काम भएको छ। कुनै बेला त्यसलाई दिवसका रूपमा दिइन्छ। फेरि हटाइन्छ। बडो आश्चर्यको अवस्था छ। पृथ्वीलाई राज्यकै तहमा सम्झने र राष्ट्रिय दिवसकै रूपमा सम्झने गर्दा हामी कम क्रान्तिकारी हुँदैनौं। क्रान्तिकारी हुने नाममा राष्ट्र निर्माताका योगदानलाई बेवास्ता नगरियोस्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले बिदा घटाउने भनेर हटासकेकालाई समेत फेरि निरन्तरता दिएको छ। तर, एउटा बिदा भने काटेको काट्यै भयो– राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जयन्ती। पृथ्वीलाई सम्झँदा क्रान्तिकारी नभइने भ्रमबाट सरकार मुक्त हुनुपर्छ। यो अतीत मोह होइन भाबी पुस्तालाई नेपाल राष्ट्र निर्माणको पाठ हो। निर्मातालाई बिर्सेपछि मुलुक बिर्सन कति दिन लाग्छ र ? नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *