विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोसकाे सम्बन्ध विच्छेद

पाैष, २६ । अमेजन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जी बेजोसको सम्बन्ध विच्छेद हुने भएको छ । विवाहको २५ वर्षपछि उनीहरुको सम्बन्ध विच्छेद हुन लागेको हो ।

दुवैले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । उनीरुले ट्वीटरमा जारी गरेको साझा बयानमा भनेका छन्, ‘लामो समयसम्म एक–अर्कासँग प्रेममा रहँदा र फेरि केही समयका लागि दूरीको महसुस भएपछि हामीले सम्बन्ध विच्छेदको निर्णय लिएका छौँ । हामी राम्रो मित्र भने सधैँ रहने छौँ।’

हालै अमेजन कम्पनीले अहिलेसम्मकै राम्रो उपलब्धी हाँसिल गरेको थियो । अमेजन माइक्रोसफ्टलाई पछि पार्दै विश्वको सबैभन्दा धनी कम्पनी बनेको थियो ।

५४ वर्षका जेफले २५ वर्षअघि अमेजन कम्पनी सुरु गरेका थिए । ब्लुमबर्गको विश्वका धनी व्यक्तिको सूचिमा जेफ सबैभन्दा माथि छन् । उनीसँग १३७ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ । यो माइक्रोसफ्टका बिल गेट्सको भन्दा झण्डै ४५ बिलियन बढी हो ।

यस्तै ४८ वर्षकी म्याकेन्जी साहित्यकार हुन् । उनले दुई पुस्तक लेखेकी छन् । उनका सन् २००५ मा द टेस्टिङ्ग अफ लुथर तथा सन् २०१३ मा ट्रयाप्स पुस्तक सार्वजनिक भएका छन् ।

जेफ र म्याकेन्जीका चार सन्तान छन्, तीन छोरा र एक छोरी । छोरी उनीहरुले एड्प्ड गरेका हुन् । जागिरको अन्तर्वार्ताको क्रममा जेफ र म्याकेन्जीको भेट भएको थियो । जेफले अन्तर्वार्ता लिएका थिए ।

उनीहरुले तीन महिनाको प्रेम सम्बन्धपछि सन् १९९३ मा विवाह गरेका थिए । त्यसको एकवर्षपछि जेफले अमेजन कम्पनी सुरु गरेका थिए । त्यो बेला अमेजनमा किताबको अनलाइन बिक्री हुने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *