निर्मला घटनामा कहाँ चुक्यो प्रहरी ?

राजेन्द्रसिंह भण्डारी, काठमाडौँ, २५ पाैष । आपराधिक घटनाको अनुसन्धानमा सम्बद्धता र असम्बद्धताको मूल्याङ्कन र प्रयोगको महत्त्वपूर्ण भूमिका रहन्छ । निर्मला पन्तको हत्या घटनामा ठहर गर्नुपर्ने विषयलाई समर्थन वा खण्डन गर्ने तथ्य संकलन, परीक्षण र प्रयोगबाट सुल्झाउनुपर्थ्यो ।

विषयलाई परिस्थितिजन्य ढंगले व्याख्या र अपव्याख्या गरिएकाले अनुसन्धान प्रणालीमा थुप्रै उल्झन देखापर्दै गए । अपराध अनुसन्धान जे भएको छ, त्यसलाई प्रकट गर्ने व्यावसायिक ज्ञान र सीप हो । यो अनुसन्धानकर्मीको सटिक अनुमानको परिणाममा निर्भर रहने गर्छ ।

बरु एक सय अपराधी छुटुन्, तर एकजना पनि निर्दोषले सजाय नपाओस् भन्ने फौजदारी न्याय प्रणालीको सिद्धान्त रहेको भए पनि निर्मला प्रकरणमा त्यसको मर्म र भाव पालना भएको देखिएन । असम्बद्ध पक्षलाई बलजफ्ती आपराधिक दायित्व बोकाउने गैरव्यावसायिक चरित्रले नेपाल प्रहरीको साख गिर्‍यो । यसबाट नेपाल प्रहरीप्रति आमनागरिकले अविश्वास गरिरहने वातावरण बन्यो । यस घटनामा नेपाल प्रहरीले सबैभन्दा बढी गुमाएको भनेकै आमविश्वास हो ।

अनुसन्धानकर्मीले संकलन गरेको घटना सम्बद्ध विवरण वा तथ्य समर्थनमा भन्दा खण्डनमा पर्दासमेत निर्दोष व्यक्तिलाई अभियोग लगाउने दुष्प्रयास गरेकै कारण सिङ्गो अनुसन्धान प्रणाली विचलनमा पर्नगएको देखिन्छ । ‘पहिले सुन अनि थुन’ भन्दा पनि पहिले थुन्ने र तत्पश्चात मात्र सुन्ने जस्ता गलत अभ्यास भयो । यो अनुसन्धान प्रणालीको पौराणिक अभ्यास हो । कुनै पनि व्यक्तिलाई पर्याप्त प्रमाणबिना हिरासतमै राखेर अनुसन्धान गर्न मिल्दैन । यसो गर्नु कानुनी राज्य र मौलिक हक विरुद्धको अर्को अपराध हो ।

कुनै शंकास्पद व्यक्तिलाई हिरासतमै राख्नु नपर्ने अवस्थामा माथवर व्यक्तिको जिम्मा दिई शंकास्पद व्यक्तिलाई हाजिर जमानीमा राख्न सकिने कानुनी व्यवस्था गरिएको छ । यी सबै आधुनिक कानुनका मर्म र भावनाको उल्लंघन गर्नु आधुनिक कानुनी राज्यको धारणामा आघात पुर्‍याउनु हो । यस्ता गतिविधिलाई रोक्नुपर्ने नेतृत्व तह स्वयंबाट प्रोत्साहित गरिनु झनै चिन्ताको विषय बन्न गएको छ ।

मुख्यतया अपराध अनुसन्धानमा तथ्यको गल्ती (मिस्टेक अफ फ्याक्ट) वा विधिमा त्रुटि (एरर अफ ल) दुइटा पक्षको भूमिका महत्त्वपूर्ण रहने गर्छ । यी दुबै त्रुटिको प्रभाव न्युन गर्न अनुसन्धानकर्मीले घटनाका सम्बन्धमा गर्ने अनुमान र तदनुरुपको रणनीतिक प्रयासले घटना सम्बद्ध सबुद संकलन गरी अनुसन्धान सबुदमुखी बनाउन सकिन्छ । निर्मला घटनामा अनुन्धानकर्मीले गरेको अनुमान नमिलेकै कारण तत्सम्बन्धमा सबै खाले आफूखुसी तजबिजी अनुमान गर्न थालेको देखिन्छ ।

राज्यको कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीबाट भइरहेको तथ्य र विधिको गल्तीका कारण आमनागरिकमा संशय र अविश्वासको वातावरण बनेको देखिन्छ । भविष्यमा प्रहरीले वास्तविक अपराधी पत्ता लगाएछन् भने पनि आमनागरिक भने आफ्नै अनुमानको प्रभावमा रहिरहने सम्भावना प्रबल देखिन्छ । यो अविश्वासको खाडल पुर्न प्रहरीलाई कति समय लाग्ने हो,यसै भन्न सकिन्न ।

‘चेन अफ कमाण्ड’मा रहने प्रहरी संगठनमा सेवा प्रभाव र निर्देशन प्रवाहको विधि पनि ‘चेन इफेक्ट’मै निर्भर गर्छ । प्रहरीको राजनीतिक र प्रशासनिक नेतृत्वमा देखापरेको अदूरदर्शिता र अपरिपक्वताको परिणामस्वरुप प्रहरी संगठनले व्यावसायिक कुशलता प्रदर्शन गर्न सकेन ।

३३ किलो सुन प्रकरणदेखि नै निजामती अनुसन्धानको गलत अभ्यासले प्रहरीको अनुसन्धानात्मक प्रणाली हस्तक्षेपको चेपुवामा पर्न गयो । नेतृत्व तहको प्रमाणमुखीभन्दा पनि प्रभावमुखी र प्रचारमुखी सोच र शैलीका कारण व्यावसायिक प्रहरी अधिकृत पनि हतोत्साहित भएर प्रमाण बिनाको परिणाममा ध्यान दिनथालेको देखिन्छ । अनुसन्धानको मर्म, मूल्य र मान्यता मर्माहत हुनेगरी गरिएका अस्वाभाविक प्रयासको स्वाभाविक परणिति हो, निर्मला प्रकरण ।

नेपाल प्रहरी, क्षमतावान व्यावसायिक जनशक्तिले भरिएको संगठन हो । व्यावसायिक व्यक्तिहरूको सञ्चालन पनि व्यावसायिक ढंगले गरिनुपर्छ । संगठनको आन्तरिक प्रशासनिक प्रणाली बलियो भएमात्र व्यावसायिक प्रहरी अधिकृतहरू आफ्नो ऊर्जा समय–सापेक्ष प्रयोग गर्न सक्छन् ।

संगठन सञ्चालनमा दुइटा पक्ष घचेट्ने र तान्ने अर्थात (पुस र पुल फ्याक्टर) को भूमिका महत्त्वपूर्ण रहने गर्छ । खराब आचरणकालाई घचेट्ने र व्यावसायिकलाई तान्ने नीति विपरीत सरुवा–बढुवाजस्ता प्रशासनिक प्रक्रिया सञ्चालन भएको अवस्थामा पनि व्यावसायिक जनशक्ति निस्क्रिय रहने गर्छन् । गुण र दोषका आधारमा प्रहरी परिचालन गर्न नसकिएकाले पनि सेवाको स्तर र अनुसन्धानको परिणाममा अपेक्षित सफलता हासिल गर्न सकिएको छैन ।

निर्मला घटनाको अनुसन्धानमा पनि नेपाल प्रहरी अनावश्यक रूपमा बिभिन्न उपायको उल्झनमा मात्रै फसेको देखिन्छ । अनुसन्धान सम्बद्ध तथ्यलाई कोट्याउने र छोट्याउने मूल विषयमै प्रवेश गर्न नसकेको अवस्थामा सरकार भेट्टिएको तर न्याय नभेट्टिएको विषयले चर्चा पाइरहने र नेपाल प्रहरीको छवि झनै बिग्रँदै जाने देखिन्छ ।

यस घटनामा पनि तथ्यभन्दा असंगत तर्कातित विश्लेषणका आधारमा धारणा बनाउने गरेको देखिन्छ । त्यही आधारमा अनुसन्धान सांँघुरिएको, अपराधीको नजिक पुगेको जस्ता फेस सेभिङ अभिव्यक्ति मात्र समय–समयमा सार्वजनिक हुने गरेका छन् ।

देशका जिम्मेवार उपप्रधानमन्त्री समेतले अपराधी पत्ता लागिसकेको र सार्वजनिक गर्नमात्र बाँकी रहेको घोषणा गरे । यस किसिमका हतारका अभिव्यक्तिले दीर्घकालीन रूपमा आफैंलाई असर पर्नेतर्फ पनि सचेत हुन आवश्यक छ ।

निर्मला प्रकरणमा अब कुनै पनि किसिमले अविश्वासको भाव जगाउने ढंगका गतिविधि हुनुहुँदैन । विशेषगरी राजनीतिमा जहाँ अविश्वासको भाव उत्पन्न हुन्छ, त्यहाँं सान्त्वनाको रणनीति अख्तियार गरिन्छ । चेन अफ कमाण्डमा रहने नेपाल प्रहरीजस्तो आमनागरिकको सरोकार र सहयोगमा निर्भर रहने संगठनमा यस किसिका सान्त्वनाको रणनीतिको गलत प्रयोग गरिनुहुन्न ।

निर्मला प्रकरणमा नेपाल प्रहरीले अपराधी पत्ता लगाउने इमानदार प्रयास जारी रहिरहने रणनीतिमा मात्र सीमित रही निर्दोष व्यक्तिलाई दोषी बनाउने दुष्प्रयास नगरेको भए पनि यतिबिघ्न अविश्वासको वातावरण बन्ने थिएन । अन्य कैयन अपराधी पत्ता लाग्न नसकेका घटनामा जस्तै अनुसन्धानकर्मीले स्वाभाविक अनुसन्धान प्रक्रियामा नलगेकै कारण निर्मला प्रकरण देशमा न्याय नै नभेट्टिएको घटनाका रूपमा चित्रित हुनगयो । यसका कारण नेपाल प्रहरीका सकारात्मक उपलब्धि निर्मला प्रकरणको छायामा पर्नगए ।लेखक पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *