पर्वतको कुश्मा नगरपालिका ठूलीपोखरीस्थित सीता सापकोटाले तरकारी बिक्री गरेर घडेरी

पर्वत ,पुस २४ । पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित बुमिकी सीता सापकोटाले व्यावसायिक तरकारीखेती गरेर वार्षिक ३ लाख रुपैयाँ आम्दानी गर्न थालेकी हुन् ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवती तथा महिलाको संख्या पनि उल्लेख्य मात्रामा बढ्दै गएको छ । स्वदेशमै केही गर्न नसकेर वा नचाहेर विदेश पलायन हुने महिलाको संख्या बढ्दै गएको बेला यहाँकी एक महिलाले भने व्यावसायिक तरकारीखेती गरेर मनग्गे आम्दानी गर्न थालेकी छन् ।

घर वरिपरि रहेको झण्डै एक रोपनी जग्गालाई उपयोग गरेर मौसमी तथा बेमौसमी तरकारीखेती गर्नुभएकी सापकोटाले तरकारीबाटै भएको कमाइले घडेरीसमेत किनिसकेकी छन् ।

उनले भरतपुर महानगरपालिकामा चार आनाको घडेरीसमेत किनेकी हुन् । घरायसी काम धन्दा सकेर वरिपरि रहेको जग्गामा गोलभेडा, काउली, आलु, बन्दागोपी, खुर्सानी, लौका, साग, घिरौलालगायत मौसमी तथा बेमौसमी तरकारीखेती गर्ने गरेको उनले बताएकी छन् ।

सिँचाइको पर्याप्त सुविधा नभए पनि खानेपानीको धाराबाट बचत भएको र खेर गएको पानी संकलन गरेर तथा गाईवस्तुको गहुँत प्रयोग गरेर अर्गानिक तरकारी उत्पादन गर्ने गरेको सापकोटाले सुनाइन् ।

उनले दुईवटा प्लास्टिक घरमा गोलभेडाखेती गर्दै आएकी छन् भने बाँकी जग्गामा अन्य तरकारी लगाउने गरेको बताइन् । उनले भनिन्, “पहिले पहिले घरका लागि मात्रै तरकारी लगाउने गरिन्थ्यो, विगत एक दशकदेखि व्यावसायिक रूपमा लगाउन थालेकी हुँ, आफू निकै सफल भएको अनुभव भएको छ ।” सापकोटाका अनुसार उत्पादित तरकारी स्थानीय ठूलीपोखरी बजार, खौलालाकुरी बजार र सदरमुकाम कुश्मामा बिक्री हुने गरेको छ ।

अहिले त बाह्रैमास मोटरबाटो सुचारु हुन्छ, बिक्री गर्नका लागि कुनै समस्या छैन, ग्राहक पनि घरमै आउँछन् उनले भनिन् । पैसा कमाउनका लागि विदेशनै जानुपर्छ वा जागिर नै खानुपर्छ भन्ने रहेनछ सापकोटाले भनिन्, “सामान्य मेहनतले पनि प्रसस्त कमाइ हुँदोरहेछ ।

आफूलाई घरमा ताजा तरकारी खान पनि हुने, इष्टमित्र, परपाहुनालाई कोसेली दिन पनि हुने, कमाइ पनि हुने भन्दै सापकोटाले यही पेसामा रमाउने गरेको बताइन् ।

सापकोटाको तरकारी फार्ममा श्रीमान् हेमराज सापकोटाले पनि सघाउँदै आएका छन् । पेसाले राजनीतिमा सक्रिय हेमराजले फुर्सदको समयमा खेतबारीमा श्रीमतीलाई सघाउने गरेको बताए । उनी राजनीतिसँगै पण्डितको काम पनि गर्छन् ।

सापकोटाले तरकारीबाटै भएको कमाइबाट घडेरी किन्ने, मासिक रूपमा बचत गर्नुुका साथै आफ्ना दुईवटा छोरालाई उच्च शिक्षासमेत पढाएकी छन् । राजधानीको शंकरदेव क्याम्पसमा उच्च शिक्षाका लागि छोराहरूलाई खर्चसमेत यही तरकारीबाट पुगेको उनले बताए ।

आफू लामो समयदेखि व्यावसायिक रूपमा तरकारी कृषकको रूमा रहेको भए पनि कुनै निकायबाट अहिलेसम्म केही पनि सहयोग नपाएको उनको गुनासो छ । उनले स्थानीय तह वा प्रदेशबाट अझै उन्नत जातका बीउ तथा अन्य प्राविधिक सहयोग पाएमा अझै पनि आम्दानी गर्न सकिने उनको भनाइ छ ।

प्रसस्त धन कमाउने रहर बोकेर विदेश जानेलाई उनको सुझाव छ कि खाडी मुलुकमा जोखिम मोलेर धेरै आम्दानी गर्नुभन्दा, गाउँमै नंग्रा खियाउन बेस हुँदोरहेछ । उनले बढ्दै गएको बाँझो जग्गामा व्यावसायिक रूपमा खेती गर्न महिलालाई आग्रहसमेत गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *