मेरो मी टू अनुभव

तारा भट्टराई, काठमाडाैं, २३ पाैष । विभिन्न अन्तर्राष्ट्रिय संस्थामा परामर्शदाताका रूपमा काम गरिसकेपछि अन्नतः २०५० भदौमा एक स्थापित राष्ट्रिय सामाजिक संस्थामा प्रवेश गरें। त्यहाँ मैले २३ वर्ष काम गरें। सो संस्थाबाट बिदा भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा काम गर्ने मौका पाएँ। २०७२ सालको भूकम्पपछि प्रभावित समुदायका लागि काम गर्ने मेरो प्रबल इच्छा पुनर्निर्माणले पूरा गरिदियो।

गृहस्थी राम्रोसँग चलाउन र छोराछोरीलाई राम्रो स्कुल-कलेजमा पढाउनैका लागि महिलाले जागिर गर्ने भन्ने म मान्दिनँ। आफू आत्मनिर्भर हुन, आफ्नो पहिचान र स्वाभिमानका लागि पनि महिलाले नोकरी वा स्वआर्जन गर्नुपर्ने विचारको हिमायती हुँ म। मैले झन्डै ३०/३२ वर्ष कामकाजी महिलाको जीवन बिताएँ।

श्रीमान् बिरामी नभएको भए यो यात्रा अझै केही वर्ष लम्बिन्थ्यो। जे होस्, आज जीवनलाई फर्केर हेर्दा गौरव लाग्छ। हिमाली भेग छोडेर देशका झन्डैे सबैजसो जिल्लामा पाइला टेक्ने सौभाग्य पाएकी छु। सुगम होस् या दुर्गम, देशका अधिकांश भागका जनताको दुःखकष्ट र गरिबीलाई नजिकबाट देखेकी छु। देशका आमा, दिदी–बहिनीमाथि हुने अन्याय-अत्याचार, भेदभाव र यौन हिंसा पनि धेरैे नजिकबाट देखेकी र बुझेकी छु।

महिलामाथि हुने हिंसाबारे सारा जगत् जानिफकार छ किनकि यो विश्वव्यापी छ। तर स्वदेशमा होस् वा विदेशमा, महिला हिंसामा न्यूनीकरण आउन सकिरहेको छैन। स्थिति कहालीलाग्दो भए पनि यसैबीच खुसीको सन्देश प्रवाह गरेको छ ह्यासट्याग मी टू अभियानले। यो अभियानले कामकाजी महिलामाथि कार्यस्थलमा हुने यौन दुर्व्यवहार तथा हिंसालाई निरुत्साह गर्नेमा धेरैैको विश्वास छ।

‘मी टू’ अभियानका केही सुन्दर पक्षहरू छन्। संघसंस्था, दलबल, प्रहरी प्रशासन आदिको सहयोगविना नै पीडितले आफूमाथि भएको हिंसा सार्वजनिक गर्न सक्छ। यसमा समयसीमा पनि छैन। जागिर गुम्ने डर अथवा जागिरबाट राजीनामा दिएमा बालबालिका तथा परिवारले दुःख पाउने चिन्ता, घटना सार्वजनिक भएमा आफू र परिवारको बदनामी वा पीडकबाट ज्यानकै जोखिम हुने जस्ता चिन्ताका कारण यौन हिंसा भएको समयमा गुपचुप राखेको वर्षौंपछि पनि सो घटना पीडितले सार्वजनिक गर्न सक्छ।

यो सामाजिक आन्दोलन हो र समाज नै यसको न्यायालय हो। यसको कामकारबाही प्रहरी–प्रशासन, कानुन र न्यायालयभन्दा छिटोछरितो र सशक्त छ। अहिले अमेरिका, भारतलगायत विभिन्न देशमा मन्त्री, पत्रकार, सिने जगत्का ठूलाठूला निर्माता, निर्देशक, चर्चित कलाकार, संगीतकार, गायकसम्म ‘मी टू’ को कारबाहीमा परेर सामाजिक बहिष्कार भएका छन्।

नेपालमा पनि ‘मी टू’ आन्दोलन सुरु भइसकेको छ । यसको निरन्तरता अपेक्षित छ।

नेपाली महिलाको औसत आयुको हिसाबले जीवनको झन्डै ४५ प्रतिशत समय जागिरमै खर्चेको ममाथि त्यस्ता दुर्व्यवहारका घटना भए/भएनन् भनेर बेलाबेलामा सोधिन्छ। स्वाभाविक पनि हो। मैले पनि कुनै समय आम महिलाले झैं धेरै–थोरै यौन दुर्व्यवहार तथा हिंसा अवश्य भोगेकी छु।

देशमा पञ्चायती व्यवस्था थियो। श्रीमान् मनमोहन भट्टराई त्यसको घोर विरोधी। २०४२ सालको सत्यागृहको बेला उनी थुनामा परे। दिन, हप्ता हुँदै महिना बित्दै थियो। यसबीच धेरै राजनीतिक बन्दी थुनामुक्त भए। तर उनको रिहा हुने नामोनिसान थिएन। पञ्चायत सरकारले उनीमाथि धेरै ज्यादती गर्ने पो हो कि भन्ने चिन्ताले पलपल मर्दै थिएँ। फोक्सोमा क्षयरोगको कीटाणुले मेरो चिता सजाइरहेको थियो।

एक दिन प्रशासकीय अधिकृतले मसित ठाडै तपाईं डिभोर्सी हो भनेर सोधे। उनको त्यस प्रश्नले मेरो दिमाग शून्य भो।

त्यतिबेला म प्लान इन्टरनेसनलमा काम गर्थें। एक दिन प्रशासकीय अधिकृतले मसित ठाडै तपाईं डिभोर्सी हो भनेर सोधे। उनको त्यस प्रश्नले मेरो दिमाग शून्य भो। मुटु सास फेर्नै अप्ठ्यारो हुने गरी हल्लिएको महसुस भयो। तर मैले होइन भन्नुको साटो केही भन्नै सकिनँ। मलाई त्यसरी प्रश्न गर्ने मानिस अहिले यो संसारमा छैनन्। होइन भने म कुनै दिन उनीसित त्यस्तो अपमानित प्रश्न किन सोधेको भनेर अवश्य प्रश्न गर्ने थिएँ।

त्यस्तै घटना अर्को पनि भएको छ। २०५० तिर म कामविशेषले अफिसको प्रशासनतिर पसेको थिएँ। म देख्नेबित्तिकै त्यहाँ उपस्थित एक (पुरुष) निर्देशकले यो एकपटक हेर्नुस् त भन्दै हतार–हतार एउटा पोस्टकार्ड मेरो हातमा थमाइदियो। पोस्टकार्ड हल्लाएपछि लुगा लगाएको महिला नांगो देखिँदो रैछ। मलाई बेबकुफ बनाउन सकेकोमा त्यहाँ उपस्थित महिला–पुरुष सबै मस्तले हाँस्न थाले। मैले त्यो व्यवहार पचाउनै सकिनँ। एउटा निर्देशकजस्तो गरिमामय पदमा बसेका व्यक्तिले यस्तो निकृष्ट काम गर्न लाज लाग्दैन भनेर बेक्सरी चिच्याएँ। उनी तिल्मिलाए र लुसुक्क कोठाबाट निस्के।

संस्थामा अरू पनि २/३ ठूला पदका पुरुष कर्मचारीको स्वभाव उनको भन्दा भिन्न थिएन। महिलाको झुन्ड देख्नासाथ भद्दा हाँसो हाँस्दै दोहोरो अर्थ लाग्ने भाषा प्रयोग गर्दै छिल्लिएर मजाक गर्र्थे। म त्यस्तो व्यवहार पचाउनै सक्दिनँ। म ठाडै उनीहरूलाई आफ्नो पदअनुसारको आचरण गर्नुस् भनेर आक्रमण गर्दै उनीहरूलाई लज्जित पार्थें। विस्तारै उनीहरूको बोली र व्यवहारमा परिवर्तन आयो र हामी सबै पछि मित्र पनि बन्यौं।

२०६९ तिर म हिमाल खबर पत्रिकामा पाक्षिक आलेख लेख्थें। एक दिन अफिस परिसरभित्र क्यान्टिनमा खाजा खाँदै गर्दा सँगैको एक पुरुष मित्रले हिमालमा निस्केको मेरो लेखमाथि टिप्पणी गर्दै जिज्ञासा राखे, ‘के साँच्चै बौद्ध धर्मावलम्बीले महिनावारी बार्दैनन् ? ’

‘बुद्ध धर्मावलम्बी खासगरी निङमापाले महिनावारीमा छोइछिटो गर्दैनन्’ मैले सरल रूपमा जवाफ दिएँ। मेरो जवाफ भुइँमा झर्नासाथ एक पुरुष मित्रले दोहोरो अर्थ लाग्ने आशयमा अन्य मित्रहरूसित कुटिल हाँसो हाँस्दै भन्न थाले– बुद्ध धर्ममा नछुने हुँदा त केही पनि बार्नुनपर्ने रैछ। त्यसपछि टेबुलवरिपरि बसेका सबै पुरुषहरू एकअर्कालाई हेर्दै हाँस्न थाले।

मैले सोच्दैनसोचेको प्रतिक्रियाबाट म स्तब्ध भएँ। मलाई त्यो क्षण लज्जाभन्दा बढी रिस उठिरहेको थियो। मैले तत्कालै त्यस्तो टिप्पणी गर्ने मित्रलाई खबरदारी गर्दै कडा प्रतिकार गरें। तर त्यहाँ बसेका पुरुषहरूको दिमाग अनियन्त्रित भइसकेको थियो। उनीहरूबीच दोहोरो अर्थ लाग्ने वाक्यको जुहारी चल्न थाल्यो। मलाई त्यहाँ टिकिरहन गाह्रो भयो, तर तुरुन्तै उठेर हिँड्न झन् असजिलो भएको थियो।

त्यस घटनाले मलाई अत्यन्तै विचलित तुल्यायोे। दुईचार रात राम्ररी सुत्न पनि सकिनँ। त्यसपछि हिमालको अर्को अंकमा ‘यौन दुव्यर्वहार’ शीर्षकमा त्यस घटनाबारे लेख लेखें। अफिसमा केही दिन निकै हलचल भयो। एचआर विभागका निर्देशक (पुरुष) ले धेरै समयसम्म त्यो आलेख सूचना पाटीमा टाँसेर राखे। त्यही वर्ष उनले संस्थाका लागि यौन दुर्व्यवहार नीति तयार पारे र माथिल्लो तहबाट पारित पनि गराए। धन्यवाद छ मित्र।

यौन दुर्व्यवहार तथा हिंसा सधैं पुरुषबाटै हुन्छ र सिकार सधैं महिला नै हुन्छन् भन्ने धारणा हामीमध्ये धेरैको हुन्छ। तर मेरो सन्दर्भमा भन्नुपर्दा म महिलाबाट पनि यौन दुर्व्यवहारबाट पीडित भएकी छु।

२०४३ तिर म जेएसआईमा ‘फ्यामली प्लानिङ स्पेसलिस्ट’ को पदमा काम गर्थें।

एकपटक परिवार नियोजनको परामर्शदाताको प्रशिक्षण लिन जिल्लाबाहिर जानुपर्ने भयो। केही दिन घुम्ने उद्देश्यले श्रीमान् पनि सँगै हिँड्नुभयो। राम्रै होटलमा हामी बस्यौं। म तालिममा जान्थें। उनी राजनीतिक भेटघाटमा जान्थे। हामी महँगो होटलमा बसिरहेको थाहा भएपछि श्रीमान्का मित्रले उनको घरमा सर्न सल्लाह दिए। घरमा खान पनि बोलाए। उनकी श्रीमतीले पनि निकै कर गरिन्। हामीलाई पनि सल्लाह राम्रै लाग्यो। श्रीमान् फर्कने दिन म उनीहरूका घरमा सरें। श्रीमती अत्यन्तै फरासिली थिइन्।

खुब गफ गर्नुपर्ने। हरेक साँझ आफ्नो भान्छाको काम सकेर मसित गफ गर्न आउँथिन्। केही दिनपछि हामीबीचको दूरी पनि कम हुन थाल्यो। त्यसपछि उनी घर-गृहस्थीका अन्तरंग कुरा गर्नुको साटो मसित अत्यन्त छाडा गफ गर्न थालिन्। हुँदाहुँदा जिस्केको पारामा उनले मलाई आफ्नो श्रीमान्सित सम्भोग गर्न अफर गर्न थालिन्। मलाई थाहा थियो– यो उनको कुविचार मात्र हो। श्रीमान् त अत्यन्तै भलाद्मी थिए। राजनीतिक मान्छे, अधिकांश समय बाहिरतिरै व्यस्त रहन्थे। म ती महिलाबाट अत्यन्त त्रसित र असुरक्षित महसुस गर्न थालें। होटलको रुम छोडेकोमा ग्लानि हुन थाल्यो। धन्य कसैगरी तालिम सकाएर म उनीसित बिदाबारी भई घर फर्कें। कुनै दिन ती महिलालाई भेटेर उनको त्यो व्यवहारको रहस्य सोध्न मन लागेको छ।

‘मी टू’ मा सार्वजनिक भएका यौन दुर्व्यवहार तथा हिंसा पढे-सुनेपछि आफू त्यस्ता खतरनाक हिंसाबाट बच्न सफल भएकोमा आफूलाई भाग्यमानी मान्न थालेकी छु। महिलाले आफूमाथि भएका हिंसा यसैगरी उजागर गर्ने हो भने सम्भवतः हिंसा पनि कम हुँदै जानेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *