महिनावारी भए विद्यालय जाँदैनन् छात्राहरु

 डोटी, २० पुस। सायल गाउँपालिका-२ सिर्मामा रहेको तामेश्वरी आधारभूत बिद्यालयमा कक्षा ८ की छात्रा देवी ओली गत आइतबार पढाइ नसकिदै विद्यालयबाट भागिन् । उनी चौथो दिन बुधवार मात्रै विद्यालय आइन् ।

विद्यालयकी प्रधानाध्याप गोमा खातीले देवीसंग विद्यालयबाट भाग्नुुको कारण सोध्दा उत्तर दिइन, ‘मेडम म छाउ -महिनावारी) भएर कक्षाकोठाबाटै घर गएँ ।’

गएको साता भगु ओलीले पनि यस्तै गरेकी थिइन् । विद्यालयमै महिनावारी भएकी भगु पनि भागेर घर गइन् र चौथो दिन मात्रै विद्यालय आइन् ।

विद्यालयमा अध्ययन गर्ने दुई सय ६८ छात्राछात्रहरुमध्ये महिनावारी हुने गरेका २९ छात्रा रहेका छन् । उनीहरु महिनावारी भएका बेला विद्यालय नआउने गरेको प्रधानाध्यापक गोमा खाती बताउँछिन् । ‘स्कुलमै महिनावारी भएपछि कक्षाकोठाबाटै भागेर जान्छन्’ प्रधानाध्यापक खातीले भनिन् ‘त्यसपछि चार दिनसम्म बिद्यालय नै आउँदैनन् ।’

कसैकसैले त किताबसमेत विद्यालयमै छोडेर जाने गरेको समेत खातीले सुनाइन् । उनले महिनावारी भएको बेला कुनै पनि छात्रा विद्यालय नआउने गरेको बताइन् ।

किन आउँदैनन् त छात्राहरु महिनावारी हुँदा विद्यालय ? कक्षा ७ मा अध्ययनरत एक छात्रा भन्छिन्, ‘महिनावारी हुँदा रगत निस्कन्छ र लुगामा लाग्छ, त्यसैले हामी आउँदैनौं ।’

लुगामा रगत लागेको देखेपछि केटाहरु जिस्काउने गरेका कारण आफू विद्यालय नआउने गरेको उनको भनाइ छ । ‘बेन्चमा बसेपछि बेन्चमा समेत रगत लाग्छ, कोठामा फोहोर हुन्छ,’ ती छात्राले भनिन्, ‘अनि कसरी बिद्यालयमा बस्नु ?’

विद्यालयमा सेनिटरी प्याड वा रगत सोस्न प्रयोग गर्ने टालो फेर्ने व्यवस्था नभएका कारण आफूहरुलाई समस्या भएको छात्राहरु बताउँछन् । उनीहरु भन्छिन्, ‘न टालो फर्ने ठाउँ छ न फेरेको फोहोर टालो फाल्ने उचित ठाउँ छ, बाहिर फालेको देखेपछि केटाहरुले तीन/चार दिनसम्म जिस्काउँछन् ।’

यदि विद्यालयमा सुरक्षित रुपमा टालो फेर्ने र फाल्ने ठाउँ भए आफूहरु नियमित रुपमा विद्यालय आउने छात्राहरु भनाइ छ । उनीहरु भन्छन्, ‘नियमित बिद्यालय आउन त हामीलाई पनि रहर छ, तर के गर्नु बाध्यता छ ।’

छात्राहरुलाई सेनीटरी प्याड फेर्ने सुरक्षित कोठा र प्याड डिस्पोजल गर्ने खाल्डो निर्माण गरिदिन प्रधानाध्यापक खातीले आग्रह गरेकी छन् । ‘विद्यालयमा भूकम्प प्रतिरोधी भवन र शौचालय बनाइदिनु भयो, त्यसका लागि आभारी छौं’ वल्र्ड भिजन अन्तर्राष्ट्रिय नेपालसंगको साझेदारीमा विद्यालयमा भूकम्प पूतिरोधी शौचालय निर्माण गरिरहेको संस्थाका प्रतिनिधिहरुलाई खातीले भनिन्, ‘अब छत्राहरुको समस्यालाई ध्यानमा राखेर यत्ति काम अझ गरिदिनु पर्‍यो ।’

छात्राहरु नियमित विद्यालय नआएका कारण उनीहरुको पढाईको गुणस्तर पनि राम्रो नभएको खातीले बताइन् । सामुदायिक स्रोतबाट कक्षा ६-७ को अध्यापन गराइरहेको विद्यालयले शिक्षकहरुको तलव भत्ताका लागि रकम जुटाउन पनि समस्या भएको भन्दै खातीले थपिन् ‘निर्माणका कामहरु गर्नका लागि हामीहरुसंग स्रोत छैन ।’

२०३६ सालमा स्थापना भएको विद्यालयमा हालसम्म सरकारले कुनै पनि संरचना निर्माण नगरिदिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसुवा ओली बताउँछन् । उनी भन्छन्, ‘विद्यालयमा भवन, शौचालय, फर्निचर सवै हामी अभिभावकहरुले श्रमदान गरेर वनाएका हौं ।’

हाल बिद्यालयमा चारवटा मात्रै दरवन्दी रहेको र बाँकी तीन जना शिक्षकहरुको तलबसमते सामुदायिक स्रोतबाटै व्यहोर्नु परेको अध्यक्ष जसुवा वताउँछन् ।

सामुदायिक विकास केन्द्र डोटीले ‘समुदाय र बिद्यालय बिपद् पूर्वतयारी तथा उत्थालशील परियोजना’ अन्तरगत उक्त विद्यालयमा ६० लाख २७ हजारको लागतमा तीन भूकम्प प्रतिरोधी भवन र छात्राछात्रका लागि छुट्टाछ्ट्टै शौचालय निर्माण गरेको छ ।

यो विद्यालय जस्तै जिल्लाका अन्य नौ बिद्यालयहरुमा यस्तै भूकम्प प्रतिरोधी भवन र शौचालय निर्माण गरिएको परियोजनाका संयोजक प्रयाग कापडीले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *