केन्द्रीय पुस्तकालयले ७० हजार थेसिसलाई कम्प्युटमा अपलोड गर्दै

काठमाडौं, पाैष १९ । त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयले ७० हजार थेसिसलाई कम्प्युटरमा अपलोड गर्ने भएको छ । पुस्तकालयले ४० हजार सिडि भर्सनमा रहेका थेसिस र ३० हजार हार्डकपीलाई  अपलोड गर्ने काम शुरु गरेको छ ।
केन्द्रिय पुस्तकालयका प्रमुख इन्द्रप्रसाद अधिकारीले भने, “हामीसँग रहेका थेसिसहरु पीडीएफ गरेर कम्प्युटरमा अपलोड गर्दैछौं । ’’

उनले थेसिसलाई अपलोड गर्ने काम  २०७४ सालबाट नै शुरु भइसकेको र सोही साल ३सय वटा अपलोड गरिसकिएको भएपनि विद्यार्थी नेताहरुको अवरोधले केही ढीला भएको बताए । पुस्तकालय विज्ञानमा स्नातकोत्तर गर्दै गरेका तीन जना विद्यार्थीलाई थेसिस अपलोड गर्न पुस्तकालयले रजिष्ट्रारको स्वीकृतिमा ज्यालादारीमा नियुक्त गरेको थियो । आफ्नो मान्छेलाई राखेको आरोप लगाउँदै विद्यार्थी नेताहरुल अवरोध गरेपछि त्यतिबेला काम रोकिएको हो ।

पुस्तकालय प्रमुख अधिकारीले मंसिरदेखि पुनः थोरै ज्यालादारीमा थेसिस अपलोड गर्न पुस्तकालय विज्ञान पढेका व्यक्तिलाई राखेर काम शुरु भएको जानकारी दिए । उनले हालसम्म ८ सय भन्दा बढी थेसिस कम्पयुटरमा अपलोड गर्ने काम सकिएको  जनाए ।

उनले यस वर्ष ५ हजार थेसिस अपलोड गर्ने लक्ष्य राखेपनि अवरोधले गर्दा ढिला सुरु भएको बताउँदै सकभर वर्षको अन्त्यसम्ममा लक्ष्य पूरा हुने जनाए ।

किताबका झण्डै ४ लाख क्याटालग कार्डलाई समेत कम्प्युटरमा इन्ट्रि गर्न लागिएको पुस्तकालय प्रमुख अधिकारीले जानकारी दिए । उनले काठको घर्राभित्र झण्डै ४ लाख किताबको क्याटालग कार्ड रहेको बताउँदै भने, “कार्डलाई कम्प्युटर डेटाबेसमा कन्भर्ट गरेर हार्डकपीलाई  मिल्काउने प्रयासमा छौं । यो विधि अब संसारमै कतै उपयोगमा छैन ।”  उनले हालसम्म १ लाख कार्डको कम्प्युटरमा इन्ट्री गरिसेकेको बताउँदै भने, ‘‘अझै ३ लाख इन्ट्री गर्न बाँकी छ । ’’

विषयगत वा लेखकका किताब लगायत खोज्नलाई क्याटालग कार्ड प्रयोग हुँदै आएको थियो । पुस्तकालय प्रमुख अधिकारीले जनशक्तिको  अभाव रहेको बताउँदै प्रोफेसनल लाइब्रेरीयनको अवश्यकता रहेको जनाए ।  दक्ष जनशक्तिको अभावले काममा ढिलाई भइरहेको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *