भेटिन छाडे ढिकी र जाँतो

नवराज ज्ञवाली पाल्पा,मंसिर ६ । भेटिन छाडे ढिकी र जाँतो

आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण पाल्पाको ग्रामीण क्षेत्रको रैथाने प्रविधि लोप हुँदै गएको छ ।
परम्परागत रुपमा प्रयोग गरिँदै आएका घरेलु मेसिनहरु हराउँदै गएपछि पर्यटकीय जिल्ला पाल्पाको ग्रामीण पहिचान पनि मेटिँदै गएकामा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिएको वर्षौं भइसकेको छ । अघिल्लो पुस्तासम्ममा उखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु मेसिनका रूपमा रहेको कोल अहिले आएर पाल्पाका ग्रामीण क्षेत्रमा विस्थापित बनिसकेको छ ।
त्यसैगरी धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि विरलै देख्न पाइन्छन् । वर्षामा ओढ्ने सेउको ठाउँ अहिले प्लास्टिकले ओगटेको छ । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् । आधुनिक प्रविधिको विकास हुनुअघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अति आवश्यक एवम् निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हँुदै गइरहेका
छन् ।
करिब तीन दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै घट्दै गएपछि लोप हुन थालेका हुन् । विभिन्न आधुनिक घरेलु मेसिनको प्रयोगपछि पाल्पामा यी घरेलु मेसिन विस्थापनमा परेका संस्कृतविद्य निर्मल श्रेष्ठले बताउनुभयो ।
घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृति पनि धरासायी बन्दै जान थालेको छ । लोक संस्कृतिमा ख्याति कमाएको पाल्पाका लोकबाजाहरु खैँजडी, मादल, डम्फु, ढोलकी, सहनाई र कर्नाल पनि हराउँदै जान थालेपछि यहाँको लोक संस्कृति पनि अपाङ्ग बन्दै गएको सस्कृतविद श्रेष्ठ बताउनुुहुन्छ ।
दसैं, तिहार र चाडपर्वको बेलामा देवीदेउतालाई चढाउने सामग्रीका रुपमा ढिकी र जाँतोमा नै कुटेको र पिँधेको चामल, पीठो शुद्ध मानिने भएपनि पछिल्लो समयमा ढिकी जाँतो लोप हुदै गइरहेको तानसेन ६ वतुङ्ग फुलवारीकी ७४ वर्षीय शान्ती देवी काफ्लेले बताउनु भयो । मन्दिरमा पूजाआजाका लागि शुद्ध र चोखो ढिकी र जाँतोमा पिँधेको मात्रै प्रयोग गर्ने गरे पनि आजकल आधुनिक विद्युतीय तथा डिजेलका मिल खुलेपछि मानिसहरुले यसको खोजी गर्न समेत बिर्सेको उहाँले बताउनु भयो ।
घरेलु मेसिनलगायतका परम्परागत साधन पनि लोप हँुदै गएपछि यस क्षेत्रको मौलिक सभ्यता नै सङ्कटमा परेको म्याग्दीका संस्कृतिविद् श्रेष्ठले बताउनुभयो ।
“पाल्पाका घरेलु मेसिनहरू हराइसके’, श्रेष्ठले भन्नुभयो – “हामी को हौँ ? हाम्रो सभ्यता के हो ? भत्रे कुराको बोध गराउने यी चिजहरू नै हराएपछि हाम्रो मौलिक संस्कृति र सभ्यता पनि सङ्कटमा परेको छ ।”
स्थानीय स्रोत, साधन एवम् स्थानीय सीपबाटै निर्माण गरिने घरेलु मेसिनबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा समेत अध्ययन गर्न सकिन्छ ।
“घरेलु मेसिनको बनोट विशुद्ध हाम्रा पुर्खाको कला र सीप हो”, स्थानीय संस्कृतिका विषयमा जानकार मदन देउरालीले भन्नुभयो – “घरेलु मेसिनको अध्ययनबाट अघिल्ला पुस्ताको आर्थिक, सामाजिक एवम् धार्मिक अवस्थाका विषयमा समेत जानकारी हासिल गर्न सकिन्छ ।”
“घरेलु मेसिन पूरै लोप भएपछि अबका पुस्ताका लागि यस क्षेत्रको सांस्कृतिक एवम् मानवीय सभ्यताका विषयमा अध्ययन गर्ने आधार रहने छैन”, देउरालीले भनुभयो – “बढ्दै गइरहेको पाश्चात्य सांस्कृतिक हस्तक्षेपका बीच हाम्रो मौलिक संस्कृति र सभ्यता हराउनेछ ।”
दैनिक प्रयोगका विभित्र आधुनिक मेसिन भित्रिए पनि यस क्षेत्रका घरेलु मेसिनको आफ्नैखाले विशेषता रहेको स्थानीय बासिन्दा बताउँछन् । “घरेलु मेसिनको प्रयोगबाट लाभदायक एवम् गुणस्तरीय वस्तुको उत्पादन गर्न मिल्छ” बगनासकाली गाउँपालिका यम्घाका खुम बहादुर वि.क भन्नुहुन्छ – “घरेलु मेसिनको तुलनामा आधुनिक मेसिनको प्रयोग महँगो एवम् खर्चिलो छ ।” लोप हँुदै गइरहेका यी मेसिनको संरक्षण र प्रवद्र्धन गरी यिनीहरूको प्रयोगलाई बढवा दिइनुपर्ने कुरामा वि.कको जोड रहेको छ ।
प्रायः सामूहिक रूपमा प्रयोग गरिने घरेलु मेसिनको विशेषता सामाजिक सद्भावमा अभिवृद्धि गर्नु पनि रहेको जानकारहरूको तर्क छ । सामूहिक प्रयोगका माध्यमबाट घरेलु मेसिनले आपसी सम्बन्धमा निकटता ल्याई सामाजिक सहयोग एवम् सद्भावना र भाइचारामा अभिवृद्धि गर्ने उनीहरूको तर्क छ ।

यस क्षेत्रको परम्परागत सभ्यता, मौलिक कला र संस्कृतिको समेत अध्ययन गर्न सकिने घरेलु मेसिनको संरक्षणलाई सबै क्षेत्रबाट प्राथमिकता दिइनु उपयुक्त नहोला र ? पाल्पा दरबार सङ्ग्रहालयमा संरक्षणका लागि परम्परागत मेसिनको नमुना सङ्ग्रहालय स्थापना र प्रभावकारी बनाउनका लागि पो सोच्ने कि ? सरोकारवालाहरुको ध्यान जान आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *